२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

सरकारको भुक्तानी र राजस्व संकलन सुचारु, दशैंअघि नै कर्मचारीले तलब-भत्ता पाउने

काठमाडौं । नेपाल सरकारले भुक्तानी प्रणाली फेरि सुचारु गरेको छ। अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार आजदेखि तलब, भत्ता र अन्य आवश्यक भुक्तानीको प्रक्रिया सुरु भइसकेको छ।

उता, राजस्व संकलन पनि पुनः सुरु भएको छ। धेरैजसो भन्सार विन्दु सञ्चालनमा आइसकेका छन् भने केही आन्तरिक राजस्व कार्यालय आंशिक क्षतिसहित चलिरहेका छन्।

भुक्तानी सुचारु भएपछि दशैंअघि नै सबै कर्मचारीले तलब-भत्ता पाउने भएका छन्। आवश्यक खर्चका लागि सरकारको ढुकुटीमा पर्याप्त रकम रहेको अर्थ मन्त्रालयले जनाएको छ। यसैबीच, महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारको खर्चभन्दा राजस्व उठानी अझै बढी भएकाले हालसम्म सरकारको ढुकुटी बचतमै छ।

तर, हालको प्राथमिकता राहत, पुनर्निर्माण र निर्वाचन तयारी भएकाले विकास खर्च र आयोजना कार्यान्वयनमा असर पर्न सक्ने अनुमान छ।

प्रकाशित मिति : २०८२ भाद्र २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस