२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

गगन र सुदनबीच महत्वपूर्ण भेट : नेतृत्वदेखि यी हुन चर्चाका विषय, सुदन आफैंले सुनाए

काठमाडौं । हामी नेपालका संयोजक सुदन गुरुङले नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापालाई अब पुराना नेताहरू नेतृत्वमा आउन नहुने सुझाव दिएका छन्।

शुक्रबार संविधान दिवसको अवसरमा राष्ट्रपति निवास शीतलनिवासमा आयोजित चियापान तथा शुभकामना कार्यक्रममा गुरुङ पनि उपस्थित थिए। सो कार्यक्रममा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, निवर्तमान सांसदहरू र नयाँ पुस्ताका अगुवाहरू समेत सहभागी थिए।

कार्यक्रममा महामन्त्री थापासँग केहीबेर कुरा गर्दै गुरुङले अब बुढा नेताहरू नेतृत्वमा आउन नहुने कुरा व्यक्त गरेका हुन्। शनिबार भिडियो सन्देशमार्फत उनले भने,
‘मैले गगन दाईलाई भेटेँ, यस्तो तालले भएन दाई, तपाईंहरू के के गर्नु हो गर्नु, यो बुढाहरू यसरी आउन भएन भनेर भनेको छु।’

उनले संविधानकै कारण पुराना नेताहरू संरक्षणमा रहेको कुरा पनि गगनलाई जानकारी गराएका छन्। गुरुङले भने, ‘तपाईंहरूलाई प्रोटेक्ट गरेको भनेको संविधान हो। संविधान फालेको भए, प्रेसिडेन्ट (राष्ट्रपति) पनि जान्थ्यो, स्टेट अभिभावकलेस हुन्थ्यो।’

विशेषगरी गत भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि गुरुङ चर्चामा आएका छन्। उनले केपी शर्मा ओलीको राजीनामापछि बनेको नयाँ सरकार गठन प्रक्रियामा समेत भूमिका खेलेका थिए।

राष्ट्रपति निवासमा भएको शपथ ग्रहण कार्यक्रममा उनले अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई खुट्टामा ढोग्नु सामाजिक सञ्जालमा पनि चर्चा बन्यो।

प्रकाशित मिति : २०८२ असोज ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस