२०८२ भाद्र २७ गते शुक्रवार | 2025 September 12th Friday

सुशीला कार्की : पहिलो महिला प्रधानन्यायाधीश हुँदै नेपालकी पहिलो महिला प्रधानमन्त्री

काठमाडौं । अन्तरिम सरकारकी नयाँ प्रधानमन्त्री सुशीला कार्की आज राति ९ बजे राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहण गर्ने कार्यक्रम तय भएको छ। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई नियुक्त गर्दै शपथ गराउनेछन्।

सुशीला कार्की नेपालको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश मात्र नभई अब पहिलो महिला प्रधानमन्त्रीको रूपमा पनि स्थापित हुँदैछिन्। उनले २०७३ साल असारदेखि २०७४ जेठसम्म सर्वोच्च अदालतको नेतृत्व गर्नुभएको थियो। इमानदार, निष्पक्ष र साहसी न्यायाधीशका रूपमा चिनिने कार्कीले भ्रष्टाचारविरुद्ध कठोर निर्णय गर्दै न्यायपालिकाको स्वतन्त्रता कायम राख्ने काम गरेकी छन्। 

उनको कार्यकालमा आमाको नामबाट नागरिकता लिन पाइने आदेश, ठूला राजनीतिक नेताविरुद्धका भ्रष्टाचार मुद्दामा कठोर फैसला, र मोहम्मद अफताब आलमसम्बन्धी मुद्दामा ऐतिहासिक आदेशलगायतका महत्वपूर्ण निर्णय भएका थिए।

राजनीतिक शक्तिहरूले उहाँमाथि महाभियोग प्रस्तावसमेत ल्याएका थिए तर जनसमर्थनका कारण त्यो अघि बढेन। सरल जीवनशैली र निडर स्वभावका कारण कार्की न्याय क्षेत्रमा स्वच्छ छविका रूपमा स्थापित छिन्। अब उनले अन्तरिम सरकारको नेतृत्व गर्दै नेपालको राजनीतिक इतिहासमा नयाँ अध्याय सुरु गर्न लागेकी छन्। 

प्रकाशित मिति : २०८२ भाद्र २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस