
काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन्।
प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तारका लागि आन्तरिक छलफल जारी छ। छलफलमार्फत नामावली टुंगो लगाउने र आजै मन्त्रिपरिषद् विस्तार गर्ने बताइएको छ।
मन्त्रिपरिषद् विस्तारको तयारीका लागि प्रधानमन्त्री कार्की आफ्ना सहयोगीहरूसँग छलफलमा रहेकी छन्। मन्त्री बन्ने सम्भावित नामहरूको चर्चा धेरै भए पनि को-को मन्त्री हुँदै छन् भन्ने टुंगो लागेको छैन।
अहिले सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीले नै लिएकी छन्। पपुलिष्टहरूलाई मन्त्रिपरिषद्मा समेट्ने प्रधानमन्त्रीको योजना छ। बालानन्द शर्मा, ओमप्रकाश अर्याल, कुलमान घिसिङ लगायतको नाम चर्चामा छ।
यसैबीच, प्रधानमन्त्री कार्कीले शनिबार ‘जेन-जी’ आन्दोलनका घाइतेलाई भेटेकी छन्। आन्दोलनका क्रममा घाइते भएका प्रदर्शनकारीहरू काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत छन्।
त्यसैक्रममा नवनियुक्त प्रधानमन्त्री कार्की ‘जेन-जी’ आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेट्न काठमाडौंको ट्रमा सेन्टर लगायतका अस्पतालमा पुगेकी हुन्। प्रधानमन्त्री कार्कीले शनिबार दिउँसो बानेश्वर र महाराजगञ्ज क्षेत्रको अवलोकन गरेकी छन्।
कार्कीले ‘जेन-जी’ प्रदर्शनका क्रममा तोडफोड र आगजनी भएका क्षेत्रको अवलोकन गरेकी हुन्। ‘जेन-जी’ प्रदर्शनका क्रममा तोडफोड, आगजनी र लुटपाट मच्चिँदा काठमाडौंसहित देशभर अकल्पनीय जनधनको क्षति भएको छ।
यस क्रममा राष्ट्रपति भवन शीतल निवाससहित प्रधानमन्त्री निवास बालुवाटार, संसद् भवन, सिंहदरबार, सर्वोच्च न्यायालयसहितका संरचना जलेर खरानी भएका छन्।