
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछाने प्रशासनले बोलाए जुनसुकै बेला कारागार फर्किन तयार रहेको स्पष्ट पारेको छ।
रिहाइ प्रक्रियामा प्रयोग भएको पत्र विवादित बनेपछि शुक्रबार साँझ पार्टीले आधिकारिक धारणा सार्वजनिक गरेको हो।
रास्वपाका प्रवक्ता मनिष झाले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै, सभापति लामिछाने कानुनी प्रक्रियाको सम्मान गर्न तयार रहेको बताए। उनले लेखेका छन्, ‘रवि लामिछाने कारागार फर्किन तयार हुनुहुन्छ।’
उनका अनुसार शुक्रबार दिउँसो कार्यवाहक सभापति डीपी अर्याल, जिल्ला प्रशासन प्रमुख (सिडिओ) र कारागार प्रमुखबीच भेटवार्ता भएको थियो। सो भेटमा रास्वपाले प्रशासनलाई खबर गरेपछि तुरुन्तै उपस्थित हुने सन्देश दिएको झाले स्पष्ट पारे।
यसअघि कार्यवाहक सभापति अर्यालले रिहाइ पत्रमा प्राविधिक त्रुटि भएको स्वीकार्दै सम्पूर्ण समन्वय आफूले गरेको र सभापति लामिछाने कानुनी प्रक्रियाका लागि पूर्ण रूपमा तयार रहेको बताएका थिए।