
काठमाण्डौँ । तामाङ समाज नर्वेले नेपालमा युवाविरुद्ध भएको गोलीकाण्डप्रति गम्भीर आपत्ति जनाएको छ । संस्थाले विशेषगरी GEN Z (Generation Z) को साहस र संकल्पलाई देशको मेरुदण्ड भन्दै उनीहरूलाई भएको अन्यायपूर्ण घटनाले स्तब्ध पारेको बताएको छ ।
समाजका अध्यक्ष ज्ञानेन्द्र लामाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सरकारले आफ्नै नागरिक, विशेष गरी युवाहरूमाथि अमानवीय ढङ्गले गोली प्रहार गरी निर्दोष जीवन गुम्नु परेको समाचारले हामीलाई स्तब्ध र दुःखी बनाएको छ । यो कार्य लोकतान्त्रिक मूल्य र नागरिक अधिकारमाथिको ठाडो आक्रमण हो ।”
समाजले घटनामा संलग्न निकाय र आदेश दिने जिम्मेवार व्यक्तिहरूमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेको छ । साथै, पीडित परिवारलाई न्यायसहित उचित क्षतिपूर्ति दिनुपर्ने भन्दै आग्रह गरेको छ ।
विज्ञप्तिमा मृत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूलाई शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।