२०८२ असोज २४ गते शुक्रवार | 2025 October 10th Friday

शीतल निवासबाट स्पष्ट सन्देश : राष्ट्रपति पौडेलले एमालेसहित दलहरूलाई के भने ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा निर्वाचनबाट भाग्न खोज्ने नेकपा एमालेसहितका राजनीतिक दलहरूलाई ठोस सन्देश दिएका छन्। शुक्रबार शीतल निवासमा अन्तरिम सरकारसहितका शीर्ष नेताहरूको उपस्थितिमा उनले लोकतन्त्र र संविधानको रक्षा निर्वाचनमार्फत मात्र सम्भव हुने बताएका हुन्।

पौडेलले दलहरूलाई कुनै बहानामा चुनाव टार्ने प्रयास नगर्न आग्रह गर्दै भने– अहिलेको अस्थिर राजनीतिक अवस्थाबाट देशलाई निकास दिने एक मात्र बाटो निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन हो। उनले शान्ति सुरक्षाको पूर्ण प्रबन्ध गर्न सरकारलाई निर्देशन दिँदै आम नागरिकलाई लोकतन्त्रमा आस्था जगाउने काम गर्न आग्रह गरे।

राष्ट्रपतिले दलहरूबीच कुनै द्विविधा वा अस्पष्टता भए खुलेर छलफल गर्न र जनतालाई भ्रममा नपार्न सुझाव दिए। उनले जेनजी पुस्ताले उठाएको मागप्रति सरकार र दलहरूले संवेदनशील भएर जवाफ दिनुपर्ने बताए।

बैठकमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने प्रतिबद्धता जनाइन्। उनले भनिन्– लोकतन्त्रमा सबै दलहरूको सहभागिताबिना निर्वाचन सम्भव छैन, त्यसैले सरकारले सबै पक्षको सुरक्षाको जिम्मेवारी लिन्छ।

बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, रास्वपा, जसपा, जनमत लगायतका दलका शीर्ष नेताहरू सहभागी थिए। दलका प्रतिनिधिहरूले पनि सुरक्षा व्यवस्थाप्रति चिन्ता व्यक्त गर्दै सरकारले विश्वास दिलाउनुपर्ने बताएका थिए।

प्रकाशित मिति : २०८२ असोज २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस