२०८३ असार ३० गते मङ्गलवार | 2026 July 14th Tuesday

जेनजीका लागि राष्ट्रपतिले गरे ठूलो घोषणा : भोलि बिहान शीतल निवासमा के हुँदैछ ?

काठमाडौं । देशको ताजा राजनीतिक परिस्थितिलाई सहज बनाउन राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी प्रतिनिधिहरूसँग छलफल गर्ने तयारी गरेका छन्। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भोलि बिहान ९ बजे शीतल निवासमा जेनजी प्रतिनिधिहरूसँग विस्तृत छलफल हुने भएको छ।

छलफलमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने बताइएको छ। सरकारका प्रवक्ता जगदिश खरेलले पनि यो छलफलमा सरकारको सक्रिय सहभागिता रहने बताएका छन्।

राष्ट्रपति पौडेलले आज दलका प्रतिनिधि र प्रधानमन्त्रीसँग अलग्गै बैठक गरी मुलुकलाई चुनावी तयारीमा केन्द्रित गर्न आग्रह गरेका थिए। उनले लोकतान्त्रिक प्रक्रियाबाटै देशको निकास खोज्नुपर्ने बताउँदै सबै पक्षबीच संवाद र विश्वास पुनःस्थापित गर्न जोड दिएका छन्।

आजको छलफलले लामो समयदेखि जारी दल र सरकारबीचको संवादहीनतालाई तोडेको बताइन्छ। भोलिको बैठकले राष्ट्रपति, सरकार र जेनजी पुस्ताबीचको सम्बन्धलाई नयाँ दिशामा लैजाने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ असोज २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस