
काठमाडौं । भदौ २४ गतेको घटनासँग सम्बन्धित काठमाडौंका मेयर बालेन शाह, हामी नेपालका संस्थापक सुधन गुरुङ, कलाकार, युट्युवर र कन्टेन्ट क्रियटरविरुद्ध प्रहरीले किटानी जाहेरी दर्ता गरेको छ।
जाहेरी अनुप उप्रेती र राजन चेम्जोङले जिल्ला प्रहरी परिसर, काठमाडौंमा दिएका हुन्। उनीहरूले राज्यविरुद्धको कसुर, आतंकवाद, सार्वजनिक शान्ति भंग, हातहतियार खरखजानासम्बन्धी, विष्फोटक पदार्थ, राष्ट्रिय तथा सार्वजनिक सम्पदा क्षतिसम्बन्धी आरोप लगाएका छन्।
जाहेरीमा कलाकारहरू संजोग कोइराला, निश्चल बस्नेत, रास्वपा नेतृ ज्वाला संग्रौला, तनुजा पाण्डे, पत्रकार राजीव खत्री, युट्युवर भाग्य न्यौपाने, प्रदीप ज्ञवाली, कलाकार हिमेश पन्त, भोजराज थापा, जेन्जीका अगुवा मिराज ढुङ्गाना, पुरुषोत्तम यादव, रक्षा बम, प्रवेश दाहाल, योग्यता भण्डारी, जेम्स कार्की, दीपकजंग अधिकारी, ओजस्वी थापा, पूर्वसांसद सुमना श्रेष्ठ, केपी खनाल, रिमा विश्वकर्मा, टिकटकर मनोज के.सी., युजन राजभण्डारी, रामकुमार खड्कालगायतमाथि कारबाही माग गरिएको छ।
जाहेरीमा भनिएको छ कि हालैको जेन-जी आन्दोलनका क्रममा आरोपितहरूले सामाजिक सञ्जाल दुरुपयोग गरी हिंसा भड्काएको र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको छ। आरोपितहरूले विभिन्न स्थानमा जलाउन, तोडफोड गर्न लगाएको फोटो र भिडिओ समेत प्रमाणका रूपमा पेश गरिएको छ।
यसप्रति कमेडियन हिमेश पन्तले आफ्नो फेसबुक स्टाटसमा व्यंग्य गर्दै लेखेका छन्, ‘आजबाट मेरो कमेडीको यात्रा यहीँ सकिएको घोषणा गर्दछु।’ साथै उनले कमेन्टमा लेखेका छन्, ‘यो सब भोगटेले सुरु गरेछ।’