२०८३ असार ३० गते मङ्गलवार | 2026 July 14th Tuesday

गृहमन्त्रीलाई हटाउन बालेनको दबाब ? प्रधानमन्त्री कार्यालयको पत्रले खोलेको रहस्य

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयले हालसालै केही सञ्चारमाध्यममा प्रकाशित गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिएको भन्ने समाचारलाई पूर्णतः भ्रमपूर्ण र तथ्यहीन भनेको छ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा कसैलाई मन्त्री बनाउने वा हटाउने विषय प्रधानमन्त्रीको अधिकार क्षेत्रभित्र पर्ने भएकाले कुनै पनि दबाब वा प्रभावका आधारमा यस्तो निर्णय हुन नसक्ने स्पष्ट गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “जेनजी आन्दोलनबाट प्राप्त जनादेशअनुसार यो सरकार गठन भएको हो। असामान्य परिस्थितिमा राष्ट्रको गम्भीर जिम्मेवारी सम्हाल्न आउनुभएका गृहमन्त्री अर्यालले आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न, शान्ति–सुरक्षा कायम राख्न र सुरक्षा निकायहरूको मनोबल उच्च राख्न निरन्तर खटिरहनुभएको छ, जुन सबैलाई विदितै छ।”

प्रधानमन्त्रीको स्वकीय सचिवालयले अहिलेको संवेदनशील राजनीतिक परिस्थितिमा यस्ता अफवाहहरू नफैलाउन र नपत्याउन सबै पक्षलाई अनुरोध गरेको छ।

प्रकाशित मिति : २०८२ कार्तिक १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस