२०८३ असोज २३ गते शुक्रवार | 2026 October 9th Friday

प्रधानमन्त्रीलाई तत्काल पदबाट हटाउने तयारी, बन्दैछ पूर्ण जेनजी सरकार!

काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जेनजी आन्दोलनका माग बेवास्ता गरेको भन्दै वक्ताहरूले त्यसको विस्थापन गरी पूर्ण जेनजी सरकार गठनको माग गरेका छन्।

‘राष्ट्रिय रक्ष जेनजी क्रान्ति सङ्घर्ष समिति एवं शान्तिदूत पक्षधर’द्वारा राजधानीको संवाद डबलीमा आयोजित खबरदारी कार्यक्रममा उनीहरूले अन्तरिम सरकार पुराना दलहरूको गलत नीतिको संरक्षणकर्ता बनेको आरोप लगाए।

ब्रिटिस गोर्खा सैनिक न्याय अभियानकी पुष्पा घलेले आन्दोलनको म्यान्डेटविपरीत काम गरेको भन्दै कार्कीलाई तत्काल पद त्याग गर्न माग गरिन्। जेनजी सल्लाहकार डा. अमोद डम्जनले वर्तमान सरकार पुरानै दलहरूको योजनामा फसेको भन्दै विस्थापनको आवश्यकता रहेको बताए।

राजनीतिक विश्लेषक लाहानु राम चौधरीले ठूला दलहरूको दशकौँको भ्रष्टाचारविरुद्ध जेनजी आन्दोलन उत्रिएको दाबी गरे। एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले विदेशी खुफिया एजेन्सीहरूको चलखेलले देश अस्थिर बनाउन खोजेको आरोप लगाए।

आयोजक युवराज जंग थापाले सेनाको सिफारिसमा कार्कीलाई प्रधानमन्त्री बनाइ आन्दोलन कमजोर पार्ने प्रयास भएको बताए। वक्ताहरूले देशलाई ‘मौलिक वैज्ञानिक सत्ययुग’तर्फ लैजाने लक्ष्यसहित पूर्ण जेनजी सरकार गठन गर्नुपर्ने माग दोहोर्‍याए।

प्रकाशित मिति : २०८२ कार्तिक ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस