२०८३ असोज ३० गते शुक्रवार | 2026 October 16th Friday

मन्त्री बन्ने लाइनमा भएका बब्लु गुप्ता के भन्छन्?

काठमाडौं । जेनजी आन्दोलनमा सक्रिय युवा बब्लु गुप्ताले आफू मन्त्री बन्ने विषयबारे जानकारी नै नभएको स्पष्ट पारेका छन्। सुशीला कार्की नेतृत्वको सरकारका लागि जेनजी पुस्ताको तर्फबाट चार जनाको नाम सिफारिस गरिएको चर्चाबीच गुप्ताको नाम पनि खेलकुद मन्त्रीका रूपमा उब्जिएको हो।

राष्ट्रपति कार्यालय अगाडि मिडियासँग कुरा गर्दै गुप्ताले आफू १० वर्षदेखि विभिन्न सामाजिक र युवा गतिविधिमा संलग्न रहेको बताउँदै काममै विश्वास गर्ने व्यक्ति भएको स्पष्ट पारे। उनले भने, ‘यो मन्त्रीको कुरा मिडिया ट्रायल पनि हुनसक्छ। म यस्ता हल्लामा लाग्दिन।’

नेपालमा सकारात्मक कुराभन्दा नकारात्मक विषय बढी प्रचार हुने प्रवृत्ति रहेको उल्लेख गर्दै उनले बारम्बार आफूलाई मन्त्री नियुक्तिको बारेमा कुनै जानकारी नरहेको दोहोर्याए।

उनले विगतमा गरेका कामका कारण केहीले आफ्नो नाम चर्चामा ल्याएको हुनसक्ने तर त्यसमा कुनै यथार्थ नभएको दाबी गरे। गुप्ताले भने, ‘नभएको कुराको पछि लाग्न आवश्यक छैन, म काम गरेर देश र युवाको पक्षमा योगदान दिन चाहन्छु।’

प्रकाशित मिति : २०८२ असोज २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस