समयअगावै अर्थात् गर्भावस्थाको ३७ हप्ताभन्दा अघि बच्चा जन्मिनु अहिलेको स्वास्थ्य क्षेत्रमा ठूलो चुनौती बनेको छ। यस्तो जन्म धेरै कारणले हुन्छ र यसले नवजात शिशुको जीवनमा धेरै जोखिम ल्याउँछ।
किन हुन्छ प्रिम्याच्योर बर्थ?
अक्सर यसको ठ्याक्कै कारण पत्ता लाग्दैन, तर केही जोखिम कारकहरू स्पष्ट छन्।
आमाको स्वास्थ्य अवस्था जस्तै मधुमेह, उच्च रक्तचाप (प्रीक्लेम्पसिया), वा संक्रमणले यस्तो अवस्था निम्त्याउन सक्छ।
त्यसैगरी धूम्रपान, मद्यपान, कमजोर पोषण, वा उचित प्रसूति जाँच नहुनु पनि प्रमुख कारण हुन्।
पहिले समयअगावै सुत्केरी भएकी महिला वा दुई वा बढी बच्चा गर्भमा भएको अवस्थामा यो जोखिम अझ बढी हुन्छ।
जन्मिएपछि बच्चाको अवस्था
समयअगावै जन्मिएका बच्चाहरूको अंगहरू पूर्ण रूपमा विकास नहुँदा उनीहरूलाई तुरुन्त NICU (नवजात शिशु गहन कक्ष) मा राखिन्छ।
फोक्सो नपुगेको कारण श्वासप्रश्वासमा समस्या (Respiratory Distress Syndrome) देखिन्छ। शरीरमा बोसो नपुग्ने भएकाले तापक्रम नियन्त्रण गर्न गाह्रो हुन्छ, र पेट पाचन प्रणाली कमजोर भएकाले दूध पचाउन कठिनाइ हुन्छ।
दीर्घकालीन असरहरू
यस्ता धेरै बच्चा पछि स्वस्थ हुन्छन्, तर केहीमा दीर्घकालीन समस्या देखिन सक्छ।
विकासमा ढिलाइ, सेरेब्रल पाल्सी, दृष्टि वा श्रवण समस्या, अस्थमा, र सिकाइमा कठिनाइ यस्ता असरहरू हुन्।
नियमित जाँच र सचेतता आवश्यक
समयअगावै सुत्केरी हुने जोखिम घटाउन गर्भावस्थामा नियमित जाँच, स्वस्थ आहार, र समयमै उपचार अत्यावश्यक हुन्छ। प्रारम्भिक देखभाल र थेरेपीले समयअगावै जन्मिएका बालबालिकाको भविष्य सुधार्न सहयोग पुर्याउन सक्छ।

