२०८२ माघ २९ गते बुधवार | 2026 February 11th Wednesday

ठूला स्त`नका कारण महिलाहरूले कस्ता समस्याहरू भोग्छन्? हैरान बनाउने तथ्य

काठमाडौं । विश्वका धेरै समाजमा ठूला स्तनलाई आकर्षण र सौन्दर्यसँग जोडेर हेरिन्छ। तर वास्तविकतामा, यही ‘आकर्षण’ महिलाका लागि शारीरिक र मानसिक पीडाको कारण बन्ने गरेको अनुभवहरू बाहिर आएका छन्। लगातार ढाड दुख्ने, टाउको दुख्ने, आसन बिग्रिने, निद्रा समस्या, मानसिक तनाव र दैनिक गतिविधिमा असहजता जस्ता समस्या ठूला स्तन भएका महिलाले भोग्ने गरेको विशेषज्ञहरू बताउँछन्।

अर्जेन्टिनाकी ५२ वर्षीया विश्वविद्यालय प्राध्यापक राकेलले २०१० मा स्तन घटाउने शल्यक्रिया गर्ने निर्णय गरिन्। किशोरावस्थादेखि नै ठूला स्तनका कारण उनलाई ढाड दुख्ने र लाजको भावना झेल्नुपरेको थियो। उनी भन्छिन्, आफूलाई लुकाउन सधैं काँध झुकाएर हिँड्थें र त्यसले झन् शारीरिक समस्या बढायो। शल्यक्रियापछि भने उनले जीवनमा पहिलो पटक स्वतन्त्रता महसुस गरेको बताइन्।

इन्टरनेशनल सोसाइटी अफ एस्थेटिक प्लास्टिक सर्जरीका अनुसार सन् २०२४ मा विश्वभर ६ लाख ५२ हजारभन्दा बढी स्तन घटाउने शल्यक्रिया गरिएको थियो। ब्राजिल, अमेरिका, फ्रान्स, जर्मनी, टर्की र भारतमा यस्तो शल्यक्रिया उच्च दरमा भएको देखिन्छ। विशेषज्ञहरूका अनुसार ठूला स्तनको तौलले शरीरलाई अगाडि तान्ने भएकाले घाँटी र ढाडमा लगातार दबाब पर्छ, जसले हिँडडुल र व्यायामसमेत कठिन बनाउँछ।

उपयुक्त ब्रा फेला पार्न पनि चुनौतीपूर्ण हुन्छ। राम्रोसँग फिट नहुने ब्राले छाला कसिने, तन्तुमा क्षति, श्वासप्रश्वासमा असर र शारीरिक गतिविधिमा अवरोध जस्ता समस्या निम्त्याउन सक्छ। बेलायतको पोर्ट्समाउथ विश्वविद्यालयमा गरिएको अध्ययनले ब्राको कार्यात्मक महत्त्वबारे धेरै कम बुझाइ भएको देखाएको छ। अहिले खेलाडीहरूका लागि विशेष ब्रा विकास गर्ने अनुसन्धानसमेत भइरहेको छ।

यद्यपि समाजमा अझै पनि स्तन घटाउने शल्यक्रियालाई सौन्दर्यसँग मात्र जोडेर हेर्ने प्रवृत्ति छ। राकेलका अनुसार धेरैले यो स्वास्थ्यभन्दा सौन्दर्यका लागि गरिएको निर्णय ठाने, तर उनको अनुभवले भने यस्तो शल्यक्रियाले जीवनको गुणस्तर सुधार्न मद्दत गरेको देखाउँछ। विशेषज्ञहरू भन्छन्, अहिले धेरै महिलाहरू पूर्णता होइन, स्वास्थ्य र सहज जीवनको खोजीमा यस्तो निर्णय लिने गरेका छन्।

प्रकाशित मिति : २०८२ माघ २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस