२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

अमेरिकी सेनाका उप–कमाण्डिङ जनरल भोवेल भोलि काठमाडौँ आउँदै

प्रकाश काफ्ले/काठमाडौ।अमेरिकी सेनाका उप–कमाण्डिङ जनरल जोएल बी. भौवेल भोलि काठमाडौँ आउने भएका छन्। उनी दक्षिण तथा मध्य एसियामा सुरक्षा सहकार्य तथा सैनिक साझेदारीबारे छलफल गर्न नेपाल भ्रमणमा आउन लागेका हुन्।

जनरल भोवेल युनाइटेड स्टेट्स आर्मी प्यासिफिक (यूएसएआरप्याक) का उप–कमाण्डिङ जनरल हुन्। उनको भ्रमणका क्रममा नेपाली सेना का उच्च अधिकारीहरूसँग भेटवार्ता हुने कार्यक्रम रहेको बताइएको छ। भेटमा दुई देशबीचको सैन्य सहकार्य, संयुक्त तालिम, विपद् व्यवस्थापन तथा शान्ति स्थापना सम्बन्धी विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

नेपाल र अमेरिका बीच लामो समयदेखि सैन्य सहकार्य रहँदै आएको छ। नेपाली सेना संयुक्त राष्ट्रसंघ शान्ति स्थापनाअभियानमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ, जहाँ विभिन्न देशहरूसँग तालिम र सहयोग हुँदै आएको छ।

यस भ्रमणले नेपाल–अमेरिका सुरक्षा तथा सैन्य सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ।

 

प्रकाशित मिति : २०८२ फाल्गुन ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस