२०८३ भाद्र ३० गते मङ्गलवार | 2026 September 15th Tuesday

पूर्वराष्ट्रपति डा. यादवको आग्रह: ‘रास्वपाले पाएको दुई-तिहाइ जनमतको सदुपयोग होस्’

प्रकाश काफ्ले / काठमाडौं ।पूर्वराष्ट्रपति डा. रामवरण यादवले हालैको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको करिब दुई-तिहाइको भारी मतलाई जनता र राष्ट्रको हितमा सही ढङ्गले सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन्। मंगलबार काठमाडौंमा विपुल पोखरेलद्वारा लिखित पुस्तक ‘सङ्कल्पन’ विमोचन गर्दै डा. यादवले विगतका निर्वाचनहरूमा विभिन्न दलले पाएका ठूला बहुमतहरू सही उपयोग हुन नसकेको स्मरण गराए। उनले इतिहासको गल्ती नदोहोर्‍याउन रास्वपालाई सचेत गराउँदै अहिलेको यो ऐतिहासिक जनादेशलाई कुनै पनि हालतमा खेर जान दिन नहुने टिप्पणी गरे।

सोही अवसरमा पूर्वराष्ट्रपति यादवले लोकतन्त्रमा प्रतिपक्षको भूमिका अपरिहार्य हुने कुरामा समेत विशेष जोड दिए। संसदमा प्रतिपक्षी कमजोर हुनु वा नरहनु लोकतान्त्रिक पद्धतिमै चुनौती हुन सक्ने भन्दै उनले प्रतिपक्षी दललाई सम्मान गर्दै अघि बढ्नुपर्ने राजनीतिक संस्कारको आवश्यकता औंल्याए। मुलुकको वर्तमान संविधान ठूलो बलिदान र संघर्षबाट प्राप्त भएको तथ्यलाई स्मरण गराउँदै उनले सबै राजनीतिक दलहरूले आफ्ना सम्पूर्ण गतिविधि र राजनीतिक मार्गचित्र संविधानकै परिधिभित्र रहेर तय गर्नुपर्ने धारणा व्यक्त गरे।

प्रकाशित मिति : २०८२ चैत्र ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस