प्रकाश काफ्ले/काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ले नेपाल र भारतबीचको सम्बन्ध आगामी दिनमा अझ मजबुत र परिणाममुखी बनाउने विश्वास व्यक्त गरेका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ले सोमबार साँझ सामाजिक सञ्जालमार्फत बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग टेलिफोनमा कुराकानी भएको जानकारी दिँदै उनीहरूलाई चुनावी सफलताका लागि बधाई दिएका थिए। साथै उनले नयाँ सरकार गठनको प्रक्रियामा शुभकामना दिँदै भारतको तर्फबाट आपसी सहकार्य, विकास र जनहितका क्षेत्रमा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
प्रधानमन्त्री मोदीको उक्त पोस्टमा प्रतिक्रिया दिँदै बालेन्द्र शाह ले शुभकामनाका लागि धन्यवाद व्यक्त गरेका छन्। उनले नेपाल र भारतबीच ऐतिहासिक रूपमा रहेको मित्रता, सांस्कृतिक नाता र बहुआयामिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै भविष्यमा सकारात्मक परिणाम दिने सहकार्य अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।
यसै क्रममा उनले भारतले लगातार दुई पटक विश्वकप उपाधि जितेको उपलब्धिमा भारत सरकार र भारतीय नागरिकलाई बधाई पनि दिएका छन्।

