२०८३ जेष्ठ ९ गते शनिवार | 2026 May 23rd Saturday

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चरा र वन्यजन्तुबाट उडान सुरक्षामा बढ्दो जोखिम

प्रकाश काफ्ले/काठमाडौँ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले सार्वजनिक गरेको वार्षिक सुरक्षा प्रतिवेदनले विमानस्थलको उडान सुरक्षामा चरा र वन्यजन्तुको गतिविधि ठूलो चुनौतीका रूपमा देखिएको जनाएको छ। सन् २०२५ मा मात्रै यस्ता गतिविधिसँग सम्बन्धित हजारौँ घटना अभिलेख गरिएको विमानस्थलले जनाएको छ। प्रतिवेदन अनुसार गत वर्ष विमानस्थल क्षेत्रमा ४,६६७ वटा चरा तथा वन्यजन्तुसम्बन्धी घटना रेकर्ड भएका छन्। तीमध्ये १२ वटा घटनामा विमानसँग प्रत्यक्ष चरा ठोक्किएको पुष्टि गरिएको छ।

अघिल्लो वर्ष यस्ता घटना ८९० मात्रै थिए। यसले विमानस्थल आसपासको वातावरणमा चराको गतिविधि उल्लेखनीय रूपमा बढेको संकेत गरेको प्रतिवेदनले जनाएको छ। विशेषगरी विमान अवतरण मार्ग, धावनमार्ग वरपर तथा उडान क्षेत्र नजिक चराको उपस्थितिले पाइलटहरूलाई अतिरिक्त सावधानी अपनाउनुपर्ने अवस्था सिर्जना गरेको छ। कतिपय अवस्थामा अवतरणका क्रममा चराको बथान देखिएपछि पाइलटले विमानलाई पुनः घुमाएर अवतरण गर्नुपर्ने अवस्था आएको छ। यस्ता ७५ वटा गो–अराउन्ड घटना गत वर्ष मात्रै रेकर्ड भएका छन्। त्यस्तै, धावनमार्गमा चरा वा अन्य वन्यजन्तु देखिएपछि ८९ पटक उडान स्थगित गर्नुपरेको पनि प्रतिवेदनले देखाएको छ।महिनागत तथ्यांकले कात्तिक र मंसिर महिनामा चराको गतिविधि सबैभन्दा बढी हुने देखाएको छ। विमानस्थल प्रशासनका अनुसार पाइलट तथा उड्डयनकर्मीहरूले प्रत्येक महिना १०० देखि ८९० सम्म चरासम्बन्धी रिपोर्ट दिएका छन्। विमानस्थलको एयरसाइड व्यवस्थापन शाखाले काग, चिल, गिद्ध र कहिलेकाहीँ हाँस जस्ता चराहरू विमानस्थल आसपासमा देखिने गरेको जनाएको छ, जसले उडान सुरक्षामा जोखिम बढाउने सम्भावना रहन्छ।

समग्रमा सन् २०२५ मा विमानस्थलले ४,९१९ वटा विभिन्न प्रकारका सुरक्षा घटना तथा जोखिमका रिपोर्ट दर्ता गरेको छ। सन् २०२४ मा यस्तो संख्या ९०९ मात्रै थियो। विमानस्थलले सुरक्षा घटनालाई १८ विभिन्न वर्गमा विभाजन गरेर विश्लेषण गरेको छ। यसमा रनवे इन्कर्सन, ग्राउन्ड ह्यान्डलिङ समस्या, सञ्चार तथा नेभिगेसन त्रुटि, उपकरण खराबी, टर्बुलेन्स, आँधीबेहरी, विन्ड–शियर, आगलागी वा धुवाँलगायतका घटना समावेश छन्।

उडान गतिविधिको विवरण हेर्दा सन् २०२५ मा विमानस्थलबाट १६,११३ उडान सञ्चालन भएका छन्। यसमध्ये १०० अन्तर्राष्ट्रिय उडान रहेका छन् भने बाँकी अधिकांश आन्तरिक उडान हुन्। अन्तर्राष्ट्रिय उडानमा वृद्धि भए पनि आन्तरिक उडान भने अघिल्लो वर्षको तुलनामा केही घटेको प्रतिवेदनमा उल्लेख गरिएको छ। महिनागत विवरण अनुसार अक्टोबरमा सबैभन्दा धेरै उडान भएका छन् भने जुलाईमा सबैभन्दा कम उडान सञ्चालन भएका छन्।

हाल विमानस्थलबाट २ अन्तर्राष्ट्रिय र ३ आन्तरिक एयरलाइन्स सञ्चालनमा छन्। अन्तर्राष्ट्रिय उडान हिमालय एयरलाइन्स र सिचुआन एयरलाइन्सले सञ्चालन गरिरहेका छन् भने आन्तरिक सेवामा बुद्ध एयर, श्री एयरलाइन्स र यती एयरलाइन्स सक्रिय छन्।

 

प्रकाशित मिति : २०८२ चैत्र ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस