२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

जनताको मतले ‘अस्वीकार’ गरिसकेको अवस्थामा कार्यकर्तालाई कारबाहीको धम्की दिनु बुद्धिमानी होइन : सुरेन्द्र पाण्डे

प्रकाश काफ्ले/काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) का नेता सुरेन्द्र पाण्डे ले जनताले मतपत्रमार्फत पार्टीलाई अस्वीकार गरिसकेको अवस्थामा आफ्नै कार्यकर्तालाई सत्य बोलेको आधारमा कारबाहीको धम्की दिनु उपयुक्त नहुने बताएका छन्।

हालै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पाण्डेले ठूलो नैतिक पराजयपछि पनि नेतृत्वले अरूलाई कारबाही गर्ने नैतिक आधार कति बाँकी छ भन्ने प्रश्न उठाएका छन्।

उनले पार्टीको वर्तमान संरचना र कार्यशैलीलाई पूर्ण रूपमा पुनरावलोकन गर्दै ‘रिसेट’ गर्नुपर्ने समय आइसकेको उल्लेख गरेका छन्। यस्तो गम्भीर परिस्थितिमा पनि “सबै ठीक थियो, हामीलाई फसाइयो” भन्ने निष्कर्ष निकाल्नु आत्मप्रवञ्चना हुने उनको भनाइ छ।

पाण्डेले चुनावी परिणामबारे चर्चा गर्दै अन्तर्घात भए पनि त्यसले सीमित मत मात्रै तलमाथि गर्न सक्ने बताए। उनका अनुसार ५–१० हजार मतको फरक अन्तर्घातले ल्याउन सक्छ, तर देखिएको ४०–५० हजारको मतान्तरलाई ‘फसाइएको’ भनेर व्याख्या गर्नु जनताको विवेकको अपमान हुने टिप्पणी गरेका छन्।

उनले अहिलेको अवस्था कुनै षड्यन्त्रको परिणाम नभई पार्टीको सञ्चालन शैली र हठप्रतिको जनताको स्पष्ट असन्तुष्टि भएको बताएका छन्।

पाण्डेले अब पनि पार्टीले आफ्नो कार्यशैली परिवर्तन गर्ने साहस नगरेर “अरू असफल हुन्छन् र फेरि हाम्रो पालो आउला” भन्ने सोचमा मात्र बसिरहे पार्टी र देश दुवैका लागि घातक हुन सक्ने चेतावनी दिएका छन्।

प्रकाशित मिति : २०८२ फाल्गुन ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस