प्रकाश काफ्ले / काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमन र त्यसपछिको घटनाक्रमबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन अन्तिम चरणमा पुर्याएको छ। आयोगले आइतबारसम्ममा प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेश गर्ने तयारी गरेको जनाएको छ।
हाल प्रतिवेदनलाई अन्तिम रूप दिन आयोगका पदाधिकारीहरू सिंहदरबारस्थित कार्यालयमा बसेर काम गरिरहेका छन्। प्रतिवेदन तयार भइसकेपछि त्यसमा कुनै त्रुटि वा कमजोरी त छैन भन्ने विषयमा अन्तिम जाँच गर्ने काम भइरहेको आयोग स्रोतले जनाएको छ।
आयोगका एक सदस्यका अनुसार सबै प्रक्रिया पूरा भए आज साँझसम्म प्रतिवेदन बुझाउन सकिनेछ, अन्यथा भोलिसम्म प्रधानमन्त्रीलाई औपचारिक रूपमा हस्तान्तरण गरिनेछ।
अनुसन्धानका क्रममा संकलित प्रमाण, अभिलेख र अन्य दस्तावेजहरूलाई व्यवस्थित रूपमा वर्गीकरण गरी आयोगको सचिवालयले शिलबन्दी गर्ने प्रक्रिया पनि अघि बढिरहेको छ। ती सामग्रीहरू पनि प्रतिवेदनसँगै सरकारलाई बुझाइनेछन्।
गत भदौ २३ गते जेनजी आन्दोलनका क्रममा भएको घटनाबारे सत्यतथ्य पत्ता लगाउन पूर्व विशेष अदालत अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरिएको थियो। आयोगमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा र कानूनविद् विश्वेश्वर भण्डारी सदस्यका रूपमा रहेका छन्।

