प्रकाश काफ्ले/काठमाडौं । इरानले आफ्ना शत्रु राष्ट्रहरूलाई लक्षित गर्दै विश्वभरका पर्यटकीय तथा मनोरञ्जन क्षेत्रहरू असुरक्षित बन्न सक्ने चेतावनी दिएको छ।अल जजीरा का अनुसार, इरानी सेनाका प्रवक्ताअबोलफजल शेखार्चीले पार्क, मनोरञ्जन स्थल र लोकप्रिय पर्यटकीय गन्तव्यहरू शत्रु देशहरूका लागि सुरक्षित नहुने बताएका छन्।
यो चेतावनीसँगै इरानले मध्यपूर्व बाहिर पनि ‘असिमेट्रिक’ (छापामार शैलीका) आक्रमणमार्फत दबाब बढाउन सक्ने आशंका गरिएको छ, जसले विश्वव्यापी सुरक्षा चिन्ता बढाएको छ। यसैबीच,इजरायलले यसै साताको सुरुवातमा इरानको विशाल ‘साउथ पार्स’ अफशोर ग्यास क्षेत्रमा आक्रमण गरेपछि तनाव झन् चर्किएको हो। त्यसको प्रतिक्रिया स्वरूप इरानले खाडी क्षेत्रमा रहेका ऊर्जा पूर्वाधारहरूलाई लक्षित गर्न थालेको बताइएको छ।
रिपोर्टअनुसार, शुक्रबार बिहान कुवेतको मिना अल–अहमदी तेल प्रशोधन केन्द्रमा दुई चरणमा ड्रोन आक्रमण गरिएको छ, जसका कारण ठूलो आगलागी भएको जनाइएको छ। दैनिक करिब ७ लाख ३० हजार ब्यारेल तेल प्रशोधन क्षमता भएको यो केन्द्र क्षेत्रकै प्रमुखमध्ये एक हो। अमेरिकासँगको तनाव पनि बढ्दो क्रममा छ। स्कट बेसेन्ट ले इरानी तेलमाथिको प्रतिबन्ध खुकुलो पार्न सकिने संकेत दिएपछि इरानले त्यसलाई अस्वीकार गरेको छ। इरानी तेल मन्त्रालयका प्रवक्ता सामान घोड्दोसीले अन्तर्राष्ट्रिय बजारका लागि अतिरिक्त कच्चा तेल उपलब्ध नभएको बताएका छन्।
त्यसैगरी, संयुक्त अरब इमिरेट्स लाई पनि इरानले कडा चेतावनी दिएको छ। यदि यूएईको भूमि प्रयोग गरेर फारसको खाडीस्थित इरानी टापुहरूमा आक्रमण भएमा ‘ध्वंसात्मक जवाफ’ दिइने चेतावनी दिइएको छ। यी टापुहरू विश्वकै महत्वपूर्ण ऊर्जा मार्ग होरमुज जलडमरूमध्य नजिकै रहेका छन्, जहाँबाट विश्वको झण्डै पाँच भागको एक भाग तेल तथा ग्यास ढुवानी हुन्छ। पछिल्ला दिनहरूमा इजरायल र इरानबीच बढ्दो तनावले खाडी क्षेत्र मात्र होइन, विश्व सुरक्षामै चुनौती थपेको छ।

