२०८२ चैत्र २ गते सोमवार | 2026 March 16th Monday

सरकारी निर्णयप्रति रक्षा बमको कडा विरोध, ‘जेन-जीको रगत कुर्सी बाँडफाँडका लागि होइन’

प्रकाश काफ्ले/काठमाडौं । सरकारले हालै सार्वजनिक गरेका विभिन्न निर्णयप्रति जेन–जेड फ्रन्टकी संयोजक रक्षा बमले कडा असन्तुष्टि जनाएकी छन्। विशेषगरी प्रधानमन्त्री सुशीला कार्की का स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोष को अध्यक्षमा मनोनित गर्ने सरकारी निर्णयप्रति उनले आलोचना गरेकी हुन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बमले उक्त निर्णय सुशासन, पारदर्शिता र नातावाद अन्त्यको माग गर्दै सडकमा भएको आन्दोलनको भावना विपरीत गएको टिप्पणी गरेकी छन्। उनका अनुसार सरकारका उच्च पदाधिकारीहरूले आफ्ना नजिकका व्यक्तिहरूलाई विभिन्न पदमा नियुक्त गर्ने प्रवृत्तिले जनतामा निराशा बढाउने खतरा छ।

बमले आफ्नो वक्तव्यमा लेखेकी छन्,

“सडकमा सुशासनका लागि, नातावाद र कृपावादको विरुद्ध नारा लगाउँदै मेरा जेन–जेड साथीहरूले छाती र टाउकोमा गोली खाए। मसँगै हजारौँ साथीहरूले आफ्नो ज्यानको प्रवाह नगरी छातीमा गोली थाप्न सडकमा उत्रिए। किन थाहा छ? यो देशले बिस्तारै भए पनि सुशासनको सास फेर्न पाओस् भन्ने सपनाका लागि।”

उनले प्रधानमन्त्री र मन्त्रीहरूले आफ्ना नजिकका व्यक्तिहरूलाई परिषद्, विभाग वा समितिका पदहरू ‘बिदाइ उपहार’ जस्तो गरी बाँडफाँड गर्न नहुने पनि उल्लेख गरेकी छन्।

आफ्नो अभिव्यक्तिको अन्त्यमा उनले चेतावनीपूर्ण शैलीमा भनिन्,

“होस गर्नुहोस्, त्यो कुर्सीमा रातो लागेको छ। सडकले रगत भुलेको छैन, र रगतले रंगिएको कुर्सीले तपाईंलाई कुनै उचाइ दिने छैन।”

बमले आफ्नो सन्देशको अन्त्यमा आफूलाई “जेन–जेड आन्दोलनको एक सम्भावित मृतकको तर्फबाट” भन्दै हस्ताक्षरसमेत गरेकी छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार युवापुस्ताबाट आएको यस्तो कडा प्रतिक्रिया अहिलेको राजनीतिक निर्णयप्रति बढ्दो असन्तुष्टि र पारदर्शिताको मागको संकेत हो।

प्रकाशित मिति : २०८२ चैत्र १ गते आइतवार
प्रतिक्रिया दिनुहोस