२०८३ साउन २९ गते शुक्रवार | 2026 August 14th Friday

उपसभामुख चयन प्रक्रिया सुरु, आज उम्मेदवारी दर्ता र भोलि मतदान

प्रकाश काफ्ले / काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि चयन प्रक्रिया आजदेखि औपचारिक रूपमा अघि बढेको छ। यस पदका लागि उम्मेदवारहरूले आज आफ्नो उम्मेदवारी दर्ता गर्नेछन्। संसद् सचिवालयले जारी गरेको कार्यतालिका अनुसार, उम्मेदवारी दर्ता बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म गरिनेछ। त्यसपछि दिउँसो २:३० बजे उम्मेदवारहरूको नामावली सार्वजनिक गरिने जानकारी दिइएको छ। उपसभामुखको निर्वाचन भने भोलि हुने तय गरिएको छ। अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तावकले उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। उक्त प्रस्तावमाथि छलफल गरी अन्तिम निर्णय गरिनेछ।

यसअघि सभामुख डोलप्रसाद अर्यालले बुधबार बसेको बैठकमार्फत निर्वाचनको मिति तय गर्दै आवश्यक प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका थिए। उपसभामुख पदका लागि विपक्षी दलहरू पनि उम्मेदवारी दिने तयारीमा रहेका छन्। प्रतिनिधिसभामा करिब दुई तिहाइ बहुमत नजिक रहेको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थन निर्णायक बन्ने देखिएको छ। तर, रास्वपाले हालसम्म कसलाई समर्थन गर्ने भन्ने विषयमा स्पष्ट धारणा सार्वजनिक गरेको छैन।

प्रकाशित मिति : २०८२ चैत्र २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस