प्रकाश काफ्ले / काठमाडौं । नेपालको संविधान २०७२ बोकेर हिन्दी गीतमा टिकटक बनाएको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङ फेरी चर्चामा आएकी छन्। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा उनीले नेपालको संविधान हातमा लिएर मनोरञ्जनात्मक शैलीमा प्रस्तुत भएको देखिन्छ, जसले व्यापक आलोचना निम्त्याएको छ। धेरैले यसलाई देशको सर्वोच्च कानुनी दस्तावेजप्रति असम्मानजनक व्यवहार भएको भन्दै कडा प्रतिक्रिया जनाएका छन्। संसद बैठक सकेर बाहिर निस्किँदै गर्दा केही पत्रकारहरुले उक्त भिडियोको बारेमा सोध्दाखेरि भिडियोको बारेमा आफूलाई केही थाहा नभएको र भिडियो (AI) एआईले बनाएको भनेर प्रश्नबाट पन्छिन खोजेकी थिइन “एआई (Artificial Intelligence)” प्रयोग गरेर तयार गरिएको र आफूविरुद्ध गलत प्रचार भइरहेको बताएकी छन्। तर, उनको यो दाबीप्रति सामाजिक सञ्जालमा धेरैले शंका व्यक्त गरेका छन्, किनकि भिडियोमा देखिएको हावभाव, अनुहारको अभिव्यक्ति र सन्दर्भले यसलाई वास्तविक देखाउँछ। एआईको दोष दिएर उम्किन खोजे पनि टेकपानाको प्राविधिक विश्लेषणका क्रममा उनको दाबी गलत साबित भएको छ । प्राविधिक जाँच र ह्युमन भेरिफिकेसन दुवैबाट उक्त भिडिओ शतप्रतिशत वास्तविक देखिएको छ। यस घटनाले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको जिम्मेवारी, सामाजिक सञ्जालमा सामग्री प्रयोगको मर्यादा, र एआई प्रविधिको सम्भावित दुरुपयोगजस्ता विषयलाई पुनः बहसमा ल्याएको छ। साथै, संविधानजस्तो संवेदनशील दस्तावेजलाई कसरी प्रस्तुत गर्नुपर्छ भन्ने विषयमा पनि गम्भीर प्रश्न उठेको छ, र सत्यता पत्ता लगाउन निष्पक्ष अनुसन्धान आवश्यक रहेको धारणा बलियो बन्दै गएको छ।

