काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा रहेका व्यवसायी दीपक भट्टको कम्पनीबाट नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका पुत्र जयवीर देउवाको लगानी रहेको कम्पनीमा २ करोड ६० लाख रुपैयाँ ट्रान्सफर भएको पाइएको छ। विशेष अदालतमा दायर गरिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अभियोगपत्रमा जयवीरको लगानी रहेको स्कालर इन्टरनेशनल र डिजी हट नामक कम्पनीमा रकम भुक्तान भएको उल्लेख छ। विभागले यो रकम ‘कसुरबाट प्राप्त हुनसक्ने’ भन्दै थप छानबिन गर्ने जनाएको छ।
विभागले असार २२ मा जयवीरलाई सात दिनभित्र हाजिर हुन सूचना जारी गरेको थियो। बुढानीलकण्ठस्थित उनको घरमा सूचना टाँस गरिएको र गोरखापत्रमा समेत सूचना प्रकाशित गरिएको भए पनि उनी हालसम्म सम्पर्कमा आएका छैनन्। यो घटनाले सम्पत्ति शुद्धीकरण मुद्दामा नयाँ प्रश्न उठाएको छ, जहाँ विष्णु पौडेलसहित १४ जना व्यक्ति तथा कम्पनीविरुद्ध मुद्दा दायर गरिएको छ। थुना बाहिरै राखेर मुद्दा अघि बढेको छ ।

