२०८३ जेष्ठ ६ गते बुधवार | 2026 May 20th Wednesday

विद्यार्थी आन्दोलनलाई विप्लवको पूर्ण समर्थन, विद्यार्थी संगठन खारेज गर्ने निर्णयविरुद्ध आक्रोश

प्रकाश काफ्ले/काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयविरुद्ध भइरहेको आन्दोलनलाई आफ्नो पार्टीको पूर्ण समर्थन रहेको बताएका छन्। उनले विद्यार्थी संगठनहरूलाई अझ संगठित र सशक्त रूपमा आन्दोलन अघि बढाउन आग्रह गरेका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै विप्लवले सरकारको यस्तो कदमलाई निरंकुश प्रवृत्तिको संकेत भएको टिप्पणी गरेका छन्। उनका अनुसार विद्यार्थी संगठनहरू समाजमा चेतना फैलाउने, अन्यायविरुद्ध आवाज उठाउने र परिवर्तनको नेतृत्व गर्ने महत्वपूर्ण शक्ति हुन्। नेपालको इतिहासमा पनि निरंकुश शासनको अन्त्यमा विद्यार्थीहरूको अग्रणी भूमिका रहेको उनले उल्लेख गरेका छन्।

यसैक्रममा उनले वर्तमान परिवर्तन र सरकार निर्माणमा योगदान पुर्‍याएका शक्तिहरूमाथि नै दबाब सिर्जना गर्ने प्रयास भए त्यसको परिणाम सरकारकै विरुद्ध जाने चेतावनी दिएका छन्। परिवर्तन सम्भव बनाउने शक्तिलाई दबाउने प्रयास गरिए सरकारको आधार नै कमजोर बन्ने उनको भनाइ छ।

प्रकाशित मिति : २०८२ चैत्र २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस