काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयमा २७ जनालाई नियुक्ति दिएको तथ्य सरकारले नै खुलाएको छ । प्रमुख प्रतिपक्षी कांग्रेस सांसद सीता थपलियाले संसदमा सोधेको लिखित प्रश्नको जवाफमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यो तथ्य सार्वजनिक गरेको हो।
प्रधानमन्त्रीले मुख्य सल्लाहकार कुमार बेन र राजनीतिक सल्लाहकार असिम शाहलाई फूल मन्त्री सरह सुविधा दिने गरी नियुक्त गरेका छन्। त्यस्तै, नीति–प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र सूचना–सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रलाई राज्यमन्त्री सरह सुविधा दिइएको छ।
प्रधानमन्त्री सचिवालयमा हाल २७ जनालाई नियुक्त गरिएको छ। एक जना अवैतनिक स्वास्थ्य सल्लाहकार पनि सचिवालयमा छन्। मन्त्री सरह नियुक्ति पाउने सदस्यलाई गाडी र चालक सुविधा समेत दिइएको छ। तर सांसद थपलियाले सचिवालयमा प्रयोग हुने गाडी संख्या, मासिक खर्च, टेलिफोन, खाजा, पेट्रोलियम खर्चबारे सोध्दा ठोस जवाफ नआएको भन्दै असन्तुष्टि जनाएकी छन्। उनले “चित्तबुझ्दो जवाफ नआउन्जेल फेरि प्रश्न गर्ने” बताएकी छन्।
प्रधानमन्त्री शाहले मन्त्रालय संख्या २२ बाट १८ मा घटाए पनि आफ्नै सचिवालयमा दुई जनालाई मन्त्री सरह र दुई जनालाई राज्यमन्त्री सरह सुविधा दिएका छन्। अन्य मन्त्रीहरूले भने बढीमा पाँच जनासम्म सल्लाहकार नियुक्त गर्न सक्ने व्यवस्था छ। यो संविधानकै बर्खिलाप भएको दाबी गरिएको छ ।

