२०८३ जेष्ठ १६ गते शनिवार | 2026 May 30th Saturday

वैदेशिक प्रभाव बढ्दै, राष्ट्रिय हितमा जोखिम: नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको चेतावनी

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले वर्तमान सरकारको कार्यशैली र परराष्ट्र नीतिप्रति गम्भीर असन्तुष्टि जनाउँदै यसले राष्ट्रिय हितमा नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी दिएका छन्। राष्ट्रिय जनमोर्चा द्वारा काठमाडौंमा आयोजित ‘चुनावको मूल्याङ्कन र नेपालको परराष्ट्र नीति’ विषयक कार्यक्रममा आफ्नो अवधारणापत्र प्रस्तुत गर्दै उनले सरकार गठन र हालको राजनीतिक घटनाक्रममा वैदेशिक शक्तिहरूको प्रभाव बढ्दो रहेको दाबी गरे।

उनका अनुसार, भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको नियन्त्रणविरुद्ध युवाहरूले सुरु गरेको स्वतःस्फूर्त आन्दोलनलाई समेत बाह्य शक्तिहरूले आफ्नो स्वार्थअनुसार प्रयोग गरेको देखिन्छ, जसमा विशेषतः अमेरिकी रणनीतिक प्रभाव रहेको उनको विश्लेषण छ।

महामन्त्री सिंहले एमसीसी र एसपीपी जस्ता सम्झौतामार्फत नेपाललाई चीनविरुद्धको सामरिक रणनीतिमा जोड्ने प्रयास भइरहेको आरोप लगाए। उनले नेपालको भूमि तिब्बतसम्बन्धी गतिविधिमा प्रयोग हुने जोखिम बढ्दै गएको उल्लेख गर्दै देशलाई वैदेशिक सैन्य रणनीतिको केन्द्र बनाउने सम्भावनाप्रति चिन्ता व्यक्त गरे। छिमेकी सम्बन्धको सन्दर्भमा उनले भारतद्वारा गरिएको सीमा अतिक्रमण, विशेषगरी कालापानी क्षेत्र मा भएको गतिविधिप्रति सरकार मौन बसेको आरोप लगाए। साथै, चीनले नेपालको नयाँ नक्सालाई बेवास्ता गर्दा पनि सरकारबाट प्रभावकारी कूटनीतिक पहल नभएको उनको टिप्पणी थियो। विश्व राजनीतिमा बढ्दो शक्ति प्रतिस्पर्धा र युद्धको जोखिमलाई ध्यानमा राख्दै नेपालले असंलग्न परराष्ट्र नीति अपनाउनु नै उपयुक्त विकल्प भएको उनले जोड दिए। भू-परिवेष्ठित राष्ट्रका रूपमा नेपालले छिमेकी मुलुकहरूसँग सन्तुलित सम्बन्ध कायम राख्नुपर्ने आवश्यकता औंल्याउँदै उनले वर्तमान सरकारबाट राष्ट्रिय स्वाधीनताको प्रभावकारी संरक्षण हुनेमा शंका व्यक्त गरे।

अन्त्यमा, उनले राष्ट्रिय हितको रक्षा, विश्व शान्तिको समर्थन र वैदेशिक हस्तक्षेपविरुद्ध आवाज उठाउन सम्पूर्ण देशभक्त शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।

प्रकाशित मिति : २०८२ चैत्र २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस