प्रकाश काफ्ले/ काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा सक्रिय तुलसा अधिकारी (उर्फ तुलसा घिमिरे) विरुद्ध आपराधिक लाभ , ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी गम्भीर मुद्दा ललितपुर जिल्ला अदालत मा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको अभियोगपत्रमा उनले एक अटोमोबाइल व्यवसायीलाई योजनाबद्ध रूपमा ‘हनी ट्र्यापिङ’मा पारेर करिब ६ करोड ५२ लाख रुपैयाँभन्दा बढी ठगी गरेको दाबी गरिएको छ।
सम्बन्धबाट सुरु भएको ब्ल्याकमेलिङ
अनुसन्धानका अनुसार, अधिकारी र पीडित व्यवसायीबीच २०७५ सालतिर व्यावसायिक चिनजान सुरु भएको थियो। चिना जानेको आधारमा उनीहरूबीच सहमतिमै शारीरिक सम्बन्ध भएको पनि थियो। पछि यही सम्बन्धलाई आधार बनाएर उनले व्यवसायीलाई धम्की दिँदै ब्ल्याकमेलिङ गरेको आरोप छ। सामाजिक प्रतिष्ठामा असर पर्ने डर देखाएर उनले नगदका साथै सुनचाँदी, महँगा मोबाइल फोन र सवारी साधनसमेत हस्तान्तरण गर्न बाध्य बनाएको अभियोगपत्रमा उल्लेख गरिएको छ।
संगठित सञ्जालको संलग्नता
प्रहरी अनुसन्धानले यो घटनामा अधिकारी एक्लै नभई संगठित समूह नै सक्रिय रहेको देखाएको छ। यस प्रकरणमा अधिकारीसहित १० जनाविरुद्ध मुद्दा दायर गरिएको छ। तीमध्ये एक जना पक्राउ परेर साधारण जमानतमा छुटिसकेका छन् भने अन्य केही अझै फरार रहेका छन्। प्रारम्भिक विवरणअनुसार, असुलिएको रकम विभिन्न व्यक्तिहरूको बैंक खातामार्फत जम्मा गरी ‘हुन्डी’ प्रणाली प्रयोग गरेर विदेश पठाइएको आशंका गरिएको छ।
अन्तरदेशीय आर्थिक अपराधको संकेत
बैंक स्टेटमेन्ट तथा डिजिटल प्रमाणका आधारमा करिब १ करोड रुपैयाँभन्दा बढी रकम अन्तरदेशीय रूपमा सारिएको र त्यसलाई वैध आम्दानी जस्तो देखाउने प्रयास (सम्पत्ति शुद्धीकरण) गरिएको देखिएको छ। अभियोगपत्रमा विदेशसम्म फैलिएको सञ्जालमार्फत रकम परिचालन गरिएको उल्लेख छ।
हालको अवस्था र अनुसन्धान
प्रहरीले तुलसा अधिकारी लाई यस प्रकरणको मुख्य योजनाकारका रूपमा औंल्याएको छ। तुलसा अधिकारी हाल नेपालमा नभएर उनी चीनतर्फ भागेर लुकेको पनि भन्ने गरिन्छ, र उनलाई कानुनी प्रक्रियामा ल्याउन आवश्यक पहल अघि बढाइएको छ। लामो समयसम्म मानसिक तथा आर्थिक दबाब झेलेपछि पीडितले उजुरी दिएसँगै यो घटना सार्वजनिक भएको हो, जसले अहिले नेपालमा साइबर अपराध, ठगी र सामाजिक सञ्जालको दुरुपयोगबारे व्यापक बहस जन्माएको छ।

