२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

दैलेखमा ८० अर्ब घनमिटर ग्यास–पेट्रोलियम भण्डार पुष्टि, व्यावसायिक उत्पादनतर्फ सरकार अघि बढ्यो

दैलेख — भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा करिब ८०.७० अर्ब घनमिटर प्राकृतिक ग्यास तथा पेट्रोलियम पदार्थको विशाल भण्डार रहेको आधिकारिक पुष्टि भएपछि व्यावसायिक उत्पादनको प्रक्रिया नयाँ चरणमा प्रवेश गरेको छ। चिनियाँ सरकारको प्राविधिक सहयोगमा ‘चाइना जियोलोजिकल सर्भे’ले ४,०१३ मिटर गहिराइसम्म ड्रिलिङ गरी सङ्कलित नमूनाको अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाइसकेको छ। प्रतिवेदनले व्यावसायिक उत्खनन सम्भव भएको पुष्टि गरेको छ। प्रतिवेदन प्राप्त हुनासाथ बालेन शाह नेतृत्वको सरकारले उत्खननका लागि तयारी थालेको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेटमार्फत दैलेखमा पेट्रोलियम उत्पादन सुरु गर्ने लक्ष्यसहित बजेट विनियोजन गरिसकेको छ। हाल चिनियाँ पक्षसँग कानुनी, प्राविधिक तथा प्रशासनिक प्रक्रिया अघि बढाइएको छ। आगामी चरणमा ‘वेल टेस्टिङ’ र ‘रक फ्र्याक्चरिङ’ प्रविधि प्रयोग गरिने तयारी छ। मुख्य ड्रिलिङ सम्पन्न भइसकेकाले उत्खनन गरिएको कुवालाई सुरक्षित सिल गरिएको छ।

क्षेत्रको सुरक्षा निगरानीका लागि सशस्त्र प्रहरी बल (एपीएफ) चौबीसै घण्टा खटाइएको छ। परियोजना सफल भई व्यावसायिक उत्पादन सुरु भएमा नेपालको इन्धन आयातमा उल्लेखनीय कमी आउने, ऊर्जा आत्मनिर्भरता बढ्ने तथा राष्ट्रिय अर्थतन्त्रमा ऐतिहासिक योगदान पुग्ने अपेक्षा गरिएको छ।

 

प्रकाशित मिति : २०८३ असार १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस