काठमाडौं । हप्तामा दुई दिन बिदा भएपछि अन्य सार्वजनिक बिदा कटौती हुने भएका छन् । सरकारले साविकमा कायम रहेका सार्वजनिक बिदाहरूको पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गर्दै बिदाहरु घटाउन कार्यादेश दिएको छ । मुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त भएपछि बसेको सचिवस्तरीय बैठकले सो निर्णय गरेको हो । बैठकपछि विज्ञप्ति जारी गर्दै मुख्यसचिव कार्कीले हप्ताको दुई दिन शनिबार र आइतबार दिने व्यवस्था लागू भएसँगै अन्य बिदाहरुको संख्या र औचित्यमाथि पुनरावलोकन गर्न आवश्यक देखिएकाले कार्यदल गठन गर्ने निर्णय गरिएको जनाएका छन् ।
कार्कीका अनुसार उक्त कार्यदल गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठन भएको छ । सो कार्यदलले सार्वजनिक बिदा घटाउने विषयमा अध्ययन र निर्णय गर्नेछ । त्यस्तै, उक्त कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि रहेका छन् । सार्वजनिक बिदा पुनरावलोकनका विषयमा अध्ययन र प्रतिवेदन तयार गर्न कार्यदललाई १५ दिनको समय दिइनेछ । अध्ययनपछि कार्यदलले प्रतिवेदन गृह मन्त्रालयमा पेश गर्नुपर्नेछ ।

