काठमाडौं। स्वस्थ जीवनशैली र प्राकृतिक खाद्यवस्तुप्रति नागरिकको आकर्षण बढिरहेका बेला बराह एग्रो फुड्सले शतप्रतिशत प्राकृतिक रूपमा उत्पादन गरिएको ‘बराह मोरिंगा’ बजारमा ल्याएको छ। सजिवन तथा शितलचिनीका नामले समेत चिनिने मोरिंगा शरीरलाई आवश्यक पोषक तत्त्व प्रदान गर्न उपयोगी मानिन्छ।
राजधानीमा शनिबार आयोजित कार्यक्रममा महिला आर्थिक सशक्तीकरणकी अगुवा तथा पूर्वमन्त्री भगवती चौधरीले ‘बराह मोरिंगा’को औपचारिक रूपमा सार्वजनिक गरिन्। उत्पादन सार्वजनिक गर्दै चौधरीले शुद्ध र प्राकृतिक खाद्यवस्तुको उत्पादन तथा उपभोगले स्वस्थ जीवनशैली प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने बताइन्।
सुनसरीको बराहक्षेत्र नगरपालिका–१ मा उत्पादन गरिएको बराह मोरिंगा भिटामिन, खनिज र प्रोटिनको राम्रो स्रोत भएको उल्लेख गर्दै उनले यसले शरीरको प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न तथा स्वस्थ जीवनयापनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरिन्।

स्थानीय स्रोत र सीपलाई व्यावसायिक उत्पादनसँग जोडेर महिला उद्यमशीलता तथा युवा स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले अभियान अगाडि बढाइएको उनको भनाइ थियो। गाउँमा उपलब्ध सम्भावनालाई पहिचान गरी बजारसँग जोड्न सके स्थानीय समुदायको आयआर्जन बढ्नुका साथै ग्रामीण अर्थतन्त्रसमेत आत्मनिर्भर बन्न सक्ने उनले बताइन्।
पूर्वमन्त्री चौधरीले मोरिंगाले शरीरलाई आवश्यक पोषक तत्त्व उपलब्ध गराउनुका साथै शरीरमा जम्मा भएका अनावश्यक तत्त्व बाहिर निकाल्ने प्रक्रियामा सहयोग पुर्याउने बताइन्। मधुमेह र उच्च रक्तचापलगायत जीवनशैलीसँग सम्बन्धित समस्यामा यसको उपयोगिताबारे चर्चा गर्दै उनले मोरिंगाको उत्पादन, उपभोग र बजार विस्तारमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याइन्। मोरिंगाको फलसमेत स्वादिलो र पोषणयुक्त हुने भएकाले यसको बहुआयामिक प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो।
ग्रामीण महिला उत्सुकता विकास मञ्चको प्राविधिक व्यवस्थापन तथा स्थानीय आदिवासी–जनजाति महिलाहरूको सक्रिय सहभागितामा बराह मोरिंगा उत्पादन गरिएको हो। उत्पादनलाई देशव्यापी रूपमा विस्तार गर्दै ग्रामीण क्षेत्रमा महिला उद्यमशीलता र युवाका लागि स्वरोजगारका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार Lower Tamor Landscape Conservation project (COMDEKS) / SATOYAM Initiative, Ministry of Environment Government of Japan, KNCF, Convention of Biological Diversity, UNU IAS, gef, SGP and UNDP को आर्थिक सहयोगमा सञ्चालन गरिएको हो। यसले स्थानीय उत्पादनको व्यावसायीकरण, रोजगारी सिर्जना र ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा समाज कल्याण परिषद्का पूर्वसदस्य सचिव डिल्ली भट्ट, राजश्री विश्वविद्यालयका परीक्षा नियन्त्रक डा. श्यामकिशोर महतो, फरवार्ड माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भट्टराई र किसान नेटका अध्यक्ष सूर्य भुसाललगायतले मोरिंगाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्त्वबारे चर्चा गरेका थिए। उनीहरूले यसको व्यावसायिक उत्पादन विस्तारले महिला सशक्तीकरण, रोजगारी सिर्जना र ग्रामीण अर्थतन्त्रलाई थप गतिशील बनाउन सहयोग पुग्ने धारणा व्यक्त गरे।
सो अवसरमा बराह मोरिंगा नियमित सेवन गर्दै आएका व्यक्तिहरूले आफ्ना अनुभवसमेत साझा गरेका थिए। उनीहरूले मोरिंगालाई पोषक तत्त्वको उपयोगी स्रोतका रूपमा उल्लेख गर्दै उत्पादनको गुणस्तरलाई निरन्तर कायम राख्न, आधुनिक तथा आकर्षक प्याकेजिङ विकास गर्न र अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने रणनीति बनाउन सुझाव दिए।
फरवार्ड नेपालका प्रमुख कार्यकारी निर्देशक द्रव्यराज चौधरीले बराह मोरिंगाको उत्पादनमा प्राकृतिक शुद्धता र गुणस्तरलाई उच्च प्राथमिकता दिइएको बताए। उनले आगामी दिनमा उत्पादन क्षमता, प्रशोधन प्रविधि, ब्रान्डिङ र बजार विस्तारलाई थप व्यवस्थित गर्दै ‘बराह मोरिंगा’लाई स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा विश्वसनीय नेपाली उत्पादनका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे।
स्थानीय महिलाको श्रम, सीप र आत्मविश्वाससँग जोडिएको ‘बराह मोरिंगा’ केवल एउटा खाद्य उत्पादन मात्र नभई महिला सशक्तीकरण, युवा स्वरोजगार र ग्रामीण समृद्धिको सम्भावनासमेत बनेर बजारमा आएको छ।

