विराटनगर । सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागी एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।
सो घटनापछि सोमबार विराटनगरमा विरोध प्रदर्शन भएको थियो। मंगलबार यातायात अवरोध र सुरक्षा जोखिमका कारण महानगरपालिकाले औपचारिक निर्णय नगरे पनि विद्यालयहरू स्वतःस्फूर्त रूपमा बन्द भएका छन्। शिक्षा महाशाखा प्रमुख रामप्रसाद ढुंगेलका अनुसार स्कुल बस सञ्चालनमा अवरोध हुने चेतावनी पाएपछि विद्यालयहरूले पठनपाठन रोकेका हुन्।
देवानगञ्ज र हरिनगर गाउँपालिकाले घटनाको शोकमा सार्वजनिक बिदा दिएका छन्। दक्षिणी भेगका शैक्षिक संस्थाहरू पनि बन्द छन्। स्थिति नियन्त्रणका लागि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ।
प्रकाशित मिति : २०८३ साउन १२ गते मङ्गलवार

