जनकपुरधाम । सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागी २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि सुरु भएको विरोध प्रदर्शन सिरहासम्म फैलिएको छ। मंगलबार सिरहाको गोलबजार नगरपालिका–८ पुरानो चोक, चोहर्वामा स्थानीयले निष्पक्ष छानबिनको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरे।
प्रदर्शनकारीहरूले घटनामा संलग्नमाथि कानूनी कारबाही, प्रहरी दमन अन्त्य तथा न्यायको माग गर्दै प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेका छन्। यसअघि सोमबार पनि सिरहाको कर्जन्हा नगरपालिका–बन्दीपुर, गोलबजारको गोलपार्क र धनगढीमाई नगरपालिका–८ कसहा चोकमा विरोध प्रदर्शन भएको थियो।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मंगलबार करिब आधा घण्टा राजमार्ग अवरुद्ध भएको थियो। आन्दोलनकारीसँग छलफलपछि सडक सञ्चालनमा आएको हो। सुनसरीसहित विभिन्न जिल्लामा अहिले पनि प्रदर्शन जारी छ।

