२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

सुनसरी घटनामा राजनीतिकरण नगर्न रास्वपाको आग्रह, सभापति रविको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुनसरीसहित पूर्वी जिल्लामा हालै भएको संवेदनशील घटनाको निष्पक्ष, स्वतन्त्र र द्रुत छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ। पार्टी सभापति रवि लामिछानेद्वारा मंगलबार जारी विज्ञप्तिमा घटनालाई राजनीतिकरण नगर्न सबै राजनीतिक दल तथा सरोकारवाला पक्षलाई आग्रह गरिएको छ। विज्ञप्तिमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारप्रति समवेदना र घाइते नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

रास्वपाले कुनै पनि समस्या वा विवाद हिंसा र मुठभेडबाट समाधान नहुने उल्लेख गर्दै बहुलवादी संस्कृति, सामाजिक सद्भाव र सहिष्णुतालाई कमजोर पार्ने गतिविधि नगर्न चेतावनी दिएको छ। अफवाह र उत्तेजनाको पछि नलागी संयमता अपनाउन पनि अपिल गरिएको छ। विज्ञप्तिमा वर्तमान परिस्थितिलाई सामान्य बनाउन सरकार र स्थानीय प्रशासनसँग निरन्तर सहजीकरण भइरहेको उल्लेख गर्दै घटनाको जरोसम्म पुग्ने गरी स्वतन्त्र अनुसन्धान गर्न, पीडितलाई राहत, क्षतिपूर्ति र नि:शुल्क उपचारको व्यवस्था गर्न ध्यानाकर्षण गराइएको छ।

रास्वपाले शान्ति, न्याय र सामाजिक सद्भावको पक्षमा प्रतिबद्धता जनाउँदै संवादमार्फत समस्याको समाधान खोज्ने बताएको छ। साथै, पार्टीका स्थानीय समिति तथा सम्पूर्ण कार्यकर्तालाई शान्ति र सद्भाव कायम राख्न सहयोगी भूमिका खेल्न निर्देशन दिइएको छ।

 

प्रकाशित मिति : २०८३ साउन १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस