काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री समेत रहेका नेता सुधन गुरुङलाई उपसभापति बनाउने तयारी गरेको छ। यसअघि वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह समूहबाट अन्य नेताको नाम चर्चामा रहे पनि मंगलबार गुरुङको नाम प्रस्तावित भएको स्रोतले जनाएको छ। पार्टीको पदाधिकारीमा समावेशिता नदेखिएको भन्दै वरिष्ठ नेता शाहले गुरुङको नाम सिफारिस गरेका थिए। सभापति रवि लामिछानेले त्यसमा सहमति जनाएपछि गुरुङ बूढानीलकण्ठ पुगेर सभापतिसँग भेट गरेका थिए।
रास्वपाको चितवन महाधिवेशनले नयाँ नेतृत्व चयन गरे पनि केन्द्रीय समिति अझै अपूर्ण छ। यसलाई टुंग्याउन बुधबार केन्द्रीय समिति बैठक बस्नेछ। बैठकमा महाधिवेशन समीक्षा, संगठनात्मक व्यवस्थापन, कार्यविधि परिमार्जन, सभापतिको प्रतिवेदन र अभियानका विषयमा निर्णय हुने एजेन्डा तय गरिएको छ। बैठकको प्रमुख एजेन्डा भने ११ पदाधिकारी र ५१ केन्द्रीय सदस्यको मनोनयन रहनेछ। विधानअनुसार यी पदमा मनोनयन गर्ने अधिकार सभापतिलाई छ। तर मनोनयन सूची पार्टीभित्रको शक्ति सन्तुलनसँग पनि जोडिएको छ। शाह पक्षले कम्तीमा २४ जना केन्द्रीय सदस्य समावेश गर्नुपर्ने माग गर्दै नाम सिफारिस गरेको छ।
चितवन महाधिवेशनबाट सात पदाधिकारी र ९९ केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन्। अब बाँकी ११ पदाधिकारी र ५१ सदस्य मनोनयनमार्फत चयन गरिनेछ। सभापति लामिछाने र शाह पक्षबीच छलफलपछि अन्तिम सूची तयार हुने बताइएको छ। पार्टीमा प्रतिनिधिसभा निर्वाचनअघि बालेन समूह, विवेकशील साझा, उज्यालो नेपाल, जेनजी, थारुहट–थारुवान तथा दलित समूह समाहित भएकाले मनोनयनमा सबै समूहलाई सम्मानजनक प्रतिनिधित्व दिन दबाब रहेको छ।
हालसम्म सभापतिमा रवि लामिछाने, उपसभापतिमा डा. स्वर्णिम वाग्ले र कानुनमन्त्री सोविता गौतम निर्वाचित भइसकेका छन्। महामन्त्रीतर्फ विपिनकुमार आचार्य निर्वाचित भएका छन् भने अर्को महामन्त्रीका लागि भुपदेव शाहलाई अघि बढाउने तयारी भएको छ।

