२०८३ साउन १३ गते बुधवार | 2026 July 29th Wednesday

सुनसरी घटनाको समाधान संवाद र सहमतिबाट गर्न केन्द्रीय सर्वदलीय आह्वान

काठमाडौं । संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरूले सुनसरी घटनाको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट खोज्न सबै पक्षलाई अपिल गरेका छन्। रास्वपाका सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकपछि जारी वक्तव्यमा दलहरूले लोकतान्त्रिक व्यवस्थामा उत्पन्न असन्तुष्टि वा समस्याको समाधान संवाद र सहमतिबाट मात्र सम्भव हुने भन्दै संयमता अपनाउन आग्रह गरेका छन्।

बैठकले पछिल्ला घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारप्रति समवेदना र घाइते नागरिक तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै, सामाजिक सद्भाव कायम राख्न प्रदेश, जिल्ला तथा स्थानीय तहमा सर्वपक्षीय बैठक आयोजना गरी नागरिकस्तरमा विश्वासको वातावरण निर्माण गर्न निर्देशन दिएको छ। दलहरूले नेपाल सरकारलाई घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न, पीडितलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन गम्भीर ध्यानाकर्षण गराएका छन्।

बैठकले सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक सूचना वा घृणास्पद अभिव्यक्तिले परिस्थिति जटिल बनाउन सक्ने भन्दै नागरिकलाई जिम्मेवारीपूर्वक प्रयोग गर्न र सञ्चारमाध्यमलाई तथ्यपरक सूचना सम्प्रेषण गर्न आग्रह गरेको छ। संयुक्त वक्तव्यमा सहभागी दलहरूले राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षा गर्दै उत्पन्न समस्याको दिगो, प्रभावकारी र शान्तिपूर्ण समाधानका लागि सरकार र समाजलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति : २०८३ साउन १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस