२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

चाबहिल–गौशालामा दुई तले सुरुङमार्ग : ६५ अर्बको लगानी

काठमाडौं – उपत्यकाको ट्राफिक व्यवस्थापनलाई ध्यानमा राख्दै चाबहिल–गौशाला क्षेत्रमा दुई तले भूमिगत सुरुङमार्ग निर्माणको प्रस्ताव गरिएको छ। पूर्वाधार विकास मन्त्रालय र जाइकाले तयार गरेको ‘काठमाडौं भ्याली अर्बन ट्रान्सपोर्ट सिस्टम मास्टर प्लान’मा करिब १.५५ किलोमिटर लामो सुरुङमार्ग बनाउने योजना अघि सारिएको हो।

विश्व सम्पदा सूचीमा रहेको पशुपति क्षेत्र नजिक भएकाले एलिभेटेड सडक सम्भव नभएको भन्दै सुरुङमार्ग उपयुक्त विकल्प ठहरिएको छ। हालको चार लेन सडकमुनि चार लेनकै दुई तहमा सुरुङमार्ग निर्माण गरिनेछ, जसमा माथिल्लो तह उत्तरतर्फ र तल्लो तह दक्षिणतर्फ सवारीका लागि प्रयोग हुनेछ।

सुरुङ निर्माणका लागि करिब ६४ अर्ब ७१ करोड रुपैयाँ खर्च हुने अनुमान छ, जसमा डिजाइन, प्राविधिक सेवा, व्यवस्थापन, कर तथा जग्गा अधिग्रहणसमेत समावेश हुनेछ। सुरुङभित्र आपतकालीन उद्धार मार्ग र साझा युटिलिटी डक्टको व्यवस्था रहनेछ।

मास्टर प्लानमा गौशालादेखि तीनकुनेसम्मको २.५२ किलोमिटर सडकलाई ८ लेनमा विस्तार गर्ने प्रस्ताव पनि गरिएको छ। यसका लागि करिब ६ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ। विमानस्थल प्रवेशद्वारमा हुने ट्राफिक जाम कम गर्न डेडिकेटेड राइट–टर्न लेन र दुवैतर्फ सर्भिस रोड थप्ने योजना छ।

 

प्रकाशित मिति : २०८३ साउन १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस