पर्सा – सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवलाई सरकारी स्कर्पियोसहित वीरगंजस्थित गण्डकको क्लार्क रिसोर्ट होटलमा रहेको क्यासिनोबाट प्रहरीले नियन्त्रणमा लिएको छ।
शनिबार राति विशेष अभियानका क्रममा अध्यक्ष यादवसहित ८ जनालाई पक्राउ गरिएको हो। ना१झ १६८७ नम्बरको सरकारी गाडी प्रयोग गरी क्यासिनो पुगेको विषयलाई प्रहरीले गम्भीर रूपमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी चक्रबहादुर मल्लका अनुसार पक्राउ परेकाहरूलाई आज सार्वजनिक गरिनेछ।
पछिल्लो समय पर्साका क्यासिनोमा नेपाली ग्राहक भाग्ने गरेको सूचना बीच यसपटक पालिका प्रमुख नै भेटिनु ठूलो विवाद बनेको छ। राजनीतिक पहुँचका आधारमा भारतीय रासन कार्ड देखाएर सुरक्षित हुने प्रवृत्ति बढेपछि प्रहरी निगरानी कडा बनाइएको थियो।
प्रकाशित मिति : २०८३ भाद्र २१ गते आइतवार

