मकवानपुर । भारी वर्षाको पूर्वानुमानसँगै बाढीको जोखिम न्यूनीकरण गर्न मकवानपुरको इन्द्रसरोवरस्थित कुलेखानी क्षेत्रमा तीन ठाउँमा साइरन जडान गरिएको छ। कुलेखानी जलाशयको बाँध, सिस्नेरी प्रहरीचौकी र इन्द्रसरोवर गाउँपालिका कार्यालयमा साइरन राखिएको कुलेखानी प्रथम जलविद्युत् केन्द्रले जनाएको छ। जलसतह बढेपछि सर्वसाधारणलाई सतर्क गराउन साइरन बजाइनेछ।
हाल जलाशयको जलसतह १ हजार ५२२.२५ मिटर रहेको छ। १ हजार ५२७ मिटर पुगेपछि पहिलो चेतावनी, १ हजार ५२८ मिटरमा दोस्रो चेतावनी र त्यसभन्दा माथि पुगेमा लगातार लामो साइरन बजाइनेछ। प्रशासनले भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै सबैलाई सतर्क रहन आग्रह गरेको छ।
प्रकाशित मिति : २०८३ असोज ८ गते बिहिवार

