२०८३ असोज ९ गते शुक्रवार | 2026 September 25th Friday

यूएनमा बालेनको भाषणलाई जेनजी अगुवाले भने इतिहासकै उत्कृष्ट, अब नतिजा हेर्न चाहान्छौं

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेको सम्बोधनप्रति जेनजी नेतृत्वका युवाहरूले सकारात्मक प्रतिक्रिया जनाएका छन्। उनीहरूले राष्ट्रिय हित, जलवायु न्याय, प्राकृतिक विपद् र विश्वव्यापी शासन प्रणालीका विरोधाभासलाई अन्तर्राष्ट्रिय मञ्चमा स्पष्ट रूपमा उठाएको भन्दै प्रधानमन्त्रीको प्रशंसा गरेका हुन्।

जेनजी नेता रवि किरण हमालले सम्बोधनमा महत्त्वपूर्ण राष्ट्रिय मुद्दा समेटिएको भन्दै धन्यवाद दिँदै अब ती विषयलाई प्रभावकारी कूटनीति, संस्थागत सुधार, आर्थिक विकास र राष्ट्रिय क्षमता अभिवृद्धिमा रूपान्तरण गर्नुपर्ने बताए। उनका अनुसार भाषण सकिएसँगै जिम्मेवारी पूरा भएको नभई अब वास्तविक काम सुरु भएको छ।

अर्का नेता मिराज ढुङ्गानाले प्रधानमन्त्रीले विदेशमा देशको प्रतिनिधित्व गर्दा आफूहरूको पूर्ण समर्थन रहने बताए।

उनले भाषणको शैलीभन्दा उठाइएका विषय महत्त्वपूर्ण रहेको भन्दै नेपालमा भएका बाढी–पहिरोजस्ता विपद् र देशको वास्तविक पीडा विश्वसमक्ष प्रस्तुत गरिएको बताए। सरकारका कामको आलोचना देशभित्र गर्न सकिने भए पनि अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्दा शुभकामना र समर्थन रहने उनको भनाइ छ।

जेनजी नेतृ तनुजा पाण्डेले प्रधानमन्त्रीले राष्ट्रिय हित र स्वाभिमानलाई केन्द्रमा राख्दै नेपालको भावना, पीडा र आवाज विश्वमञ्चमा प्रस्तुत गरेको बताइन्। जलवायु न्यायका लागि निरन्तर अन्तर्राष्ट्रिय संवाद र दबाबसँगै नेपालले आफ्ना आन्तरिक नीति तथा कार्यान्वयन पक्ष पनि बलियो बनाउनुपर्ने उनको जोड छ।

त्यस्तै, जेनजी नेता माजिद अन्सारीले प्रधानमन्त्रीको सम्बोधन स्पष्ट, संयमित, परिपक्व र सन्तुलित रहेको टिप्पणी गरे। उनले जलवायु सुरक्षालाई बेवास्ता गर्दै गरिने विश्वव्यापी सुरक्षाका दाबीमा रहेको दोहोरो मापदण्डलाई प्रधानमन्त्रीले प्रभावकारी रूपमा उठाएको बताए।

समग्रमा जेनजी युवाहरूले बालेनको राष्ट्रसंघीय सम्बोधनलाई सकारात्मक रूपमा लिँदै अब भाषणमा उठाइएका मुद्दालाई ठोस कूटनीतिक पहल, नीति, संस्थागत सुधार र परिणाममा बदल्न सरकारसँग आग्रह गरेका छन्।

 

प्रकाशित मिति : २०८३ असोज ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस