२०८३ असोज २९ गते बिहिवार | 2026 October 15th Thursday

बाढीपीडित विद्यार्थीलाई चीनले १ करोड ३० लाखको छात्रवृत्ति

दियो

काठमाडौं । चीनले नेपालका बाढीपहिरो प्रभावित क्षेत्रका विद्यार्थीका लागि १ करोड ३० लाख रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराउने भएको छ। नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँगको भेटमा चीन सरकारको यो निर्णयबारे जानकारी दिएका हुन्।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, भोटेकोशी बाढीबाट भएको जनधन तथा पूर्वाधारको क्षति र चीनले उपलब्ध गराउँदै आएको सहयोगबारे छलफल भएको थियो।

उपराष्ट्रपति यादवले विपत्तिपछि चीनले उपलब्ध गराएको मानवीय राहत, नौ सदस्यीय सुरुङ उद्धार टोली र मृतकको पहिचानमा सहयोग गरिरहेका १५ जना फरेन्सिक विशेषज्ञप्रति आभार व्यक्त गरे। उनले चीन सरकारको २० लाख अमेरिकी डलर तथा चिनियाँ रेडक्रसबाट प्रधानमन्त्री राहत कोषमा प्राप्त २ लाख अमेरिकी डलर सहयोगका लागि पनि धन्यवाद दिए।

राजदूत माओमिङले विपत्तिप्रति समवेदना व्यक्त गर्दै प्राकृतिक विपत्ति नेपाल र चीनको साझा चुनौती भएको बताए। उनले संकटका बेला आर्थिक, स्वास्थ्य तथा मानवीय सहयोगसँगै नेपालको पुनर्निर्माणमा पनि चीनको सहयोग जारी रहने प्रतिबद्धता जनाए।

प्रकाशित मिति : २०८३ असोज १० गते शनिवार
प्रतिक्रिया दिनुहोस