काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज र भोलि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी बागमती, गण्डकी, मधेस र कोशीका पहाडी तथा तराई क्षेत्र उच्च जोखिममा छन् भने सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका धेरै भूभाग पनि सतर्कता सूचीमा छन्।
शनिबार वर्षाको जोखिम अझ व्यापक र तीव्र हुने अनुमान गरिएको छ। यसले नदी तटीय क्षेत्र, पहिरोको जोखिममा रहेका बस्ती तथा हालै बाढीपहिरोबाट प्रभावित क्षेत्रका विद्यार्थी र परिवारमा थप जोखिम निम्त्याउन सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। आइतबारदेखि मौसम प्रणाली पश्चिमतर्फ सर्दै पूर्वी क्षेत्रमा सुधार हुने र सोमबारदेखि अधिकांश भूभागमा मौसम क्रमशः सामान्य हुने महाशाखाको पूर्वानुमान छ।
मंगलबारसम्म देशभर मौसमजन्य चेतावनी हट्ने सम्भावना रहेको छ। महाशाखाले उच्च जोखिममा रहेका क्षेत्रमा स्थानीय प्रशासन, सुरक्षा निकाय र विपद् व्यवस्थापन टोलीलाई तयारी अवस्थामा रहन तथा सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न र नदी तथा पहिरो जोखिम क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ।

