काठमाडौं । प्रतिनिधि सभाको हिउँदे अधिवेशनमा लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित भएका १४ सांसदको अनुपस्थितिसम्बन्धी सूचना संसदले स्वीकृत गरेको छ। शुक्रबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले सम्बन्धित सांसदहरूको नाम, अनुपस्थित बैठक संख्या र कारणसहितको विवरण प्रस्तुत गरेका थिए ।
विवरणअनुसार पुष्पकमल दाहाल सबैभन्दा धेरै २४ बैठकमा अनुपस्थित भएका छन्। उनको अनुपस्थितिको कारण अस्पताल भर्ना रहेको जनाइएको छ। योगेश गौचन थकाली २०, विदुषी राणा १५, मोहम्मद इश्तियाक राई र भरतबहादुर खड्का १४–१४ बैठकमा अनुपस्थित भएका थिए। त्यस्तै हरिना देवी कामी १३, भूमिका लिम्बू सुब्बा १२, जनकराज गिरी १२, एलिजा गुरुङ ११, सृष्टि भट्टराई ११, खड्ग शाही ११, ज्ञानेन्द्र सिंह महता १०, इन्दिरा राना मगर १० र प्रकाशसिंह कार्की १० बैठकमा अनुपस्थित भएका थिए।
सांसदहरूले अनुपस्थितिको कारणमा अस्पताल भर्ना तथा स्वास्थ्य उपचार, जिल्ला भ्रमण, अन्तर्राष्ट्रिय कार्यक्रम, विदेश यात्रा, परीक्षा, घरायसी काम, पारिवारिक काजकिरिया र व्यक्तिगत कारण उल्लेख गरेका छन्। सभामुखले कारणसहितको विवरण सभासमक्ष प्रस्तुत गरेपछि प्रतिनिधि सभाले अनुपस्थितिसम्बन्धी सूचना औपचारिक रूपमा स्वीकृत गरेको हो।

