सुर्खेतमा नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनका क्रममा केन्द्रीय सदस्य सुवासकुमार पोखरेल र जानकी सिंह विवादमा परेका छन्। आफ्ना निकटका नेताहरूलाई मात्रै महाधिवेशन प्रतिनिधि र क्षेत्रीय समितिमा ल्याउने प्रयास गरेको आरोपपछि स्थानीय तरुण दलका नेता तथा कार्यकर्ताले विरोध गर्दै नाराबाजी, होहल्ला र धक्कामुक्का गरेका थिए। उनीहरुले नेताद्वयलाई कुट्न नै अघि बढेपछि भागेर ज्यान बचाए ।
अधिवेशनस्थलमा तनाव बढेपछि जानकी सिंहमाथि झण्डै हातपातको अवस्था सिर्जना भएको र त्यसलगत्तै सुवास पोखरेल पनि कार्यक्रम छाड्न बाध्य भएको बताइएको छ। स्थानीय नेताहरूका अनुसार सहमतिका नाममा पक्षपातपूर्ण गतिविधि गर्न खोजिएपछि कार्यकर्ताहरू आक्रोशित बनेका थिए।
विवादपछि दुवै केन्द्रीय सदस्यले अधिवेशनस्थल छाडेका र चिसापानीको बाटो हुँदै सुर्खेतबाट बाहिरिएका बताइएको छ।
कांग्रेसभित्रैका केही नेता तथा कार्यकर्ताले पोखरेलमाथि अधिवेशनमा विवाद सिर्जना गर्ने, उम्मेदवारलाई सहयोग नगरेको तथा विभिन्न पुराना विवादमा मुछिएको आरोपसमेत लगाएका छन्।
प्रकाशित मिति : २०८३ असोज १७ गते शनिवार

