धनगढी : चाडपर्व नजिकिएसँगै काठमाडौँ-धनगढी हवाई मार्गमा भाडादर बढेर २२ हजार सम्म पुगेको छ । सामान्य अवस्थामा १० हजार ८ सय रुपैयाँ हुने भाडादर बढेर हाल २२ हजार सम्म पुगेको हो । चाडपर्वका वेला काठमाडौँबाट धनगढी जाने यात्रुको चाप उच्च रहने र धनगढीबाट काठमाडौँ फर्किने उडानहरू प्रायः खाली हुने भएकाले भाडा समायोजन गर्नुपरेको एयरलाइन्स कम्पनीहरूको भनाइ छ । प्राधिकरणले तोकेको माथिल्लो सीमाभित्रै रहेर भाडादर तोकिएको दाबी उनीहरूले गरेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौँ-धनगढी रुटका लागि अधिकतम भाडादर २१ हजार ६ सय रुपैयाँ निर्धारण गरेको छ । तर, एयरलाइन्स कम्पनीहरूले भने २२ हजार १८० रुपैयाँसम्म भाडा तोकेका छन् । यता धनगढी विमानस्थलका प्रमुख महेन्द्रबहादुर सिंहले नागरिक उड्डयन प्राधिकरणले तोकेको अधिकतम सीमाभन्दा बढी भाडा लिन नपाइने बताए । तोकिएको सीमाभन्दा बढी रकम असुल गरिएका पाइएमा अनुगमन गरी आवश्यक कारबाही गरिने उनको भनाइ छ । सामान्य अवस्थामै महँगो हवाइ भाडा तिर्न बाध्य सुदूरपश्चिमका नागरिकलाई चाडपर्वको समयमा थप आर्थिक भार परेको छ ।
सामान्य अवस्थामा भने अधिकतम भाडाको करिब ५० प्रतिशत हाराहारीमा टिकट बिक्री हुने गरेको थियो । चाडपर्वका बेला यात्रुको चाप एकतर्फी हुने भएकाले भाडा बढ्ने गरेको विमान कम्पनीहरूको तर्क छ । काठमाडौं-धनगढीमा चाडपर्वका बेला काठमाडौं हुँदै धनगढी आउने यात्रु अत्यधिक हुने तर धनगढीबाट काठमाडौं फर्कने यात्रु तुलनात्मक रूपमा कम हुने भएकाले भाडा समायोजन गर्नुपरेको उनीहरूको भनाइ छ । सामान्य अवस्थामै धनगढीको हवाइ भाडा देशकै महँगोमध्ये पर्ने गरेको छ । काठमाडौं-धनगढीको भाडा भारतको राजधानी दिल्लीसम्मको हवाइ यात्राभन्दा महँगो हुने विषय पटकपटक प्रतिनिधिसभामा समेत उठ्ने गरेको छ । तर, समस्या समाधान हुन सकेको छैन् ।

