२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

पशुपतिको जलहरी प्रकरणमा सदस्य सचिव थापाले रूँदै भने, जोखौं १० केजी सुन नपुगे मृत्युदण्ड भोग्न तयार छु

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीमा १० केजी नै सुन रहेको दाबी गर्नुभएको छ । मंगलबार संघीय संसद राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोषका सदस्य–सचिव डाक्टर मिलनकुमार थापाले सो जलहरीमा १० केजी सुन नपुगे आफू फाँसीको सजाय भोग्न तयार रहेको बताउनुभयो ।

आफूले पटक–पटक सो जलहरीको सुन तौल लिन गरेको आग्रहलाई बेवास्ता गरेर राज्यले आफूलाई चोर करार गर्न खोजेको भन्दै सदस्य सचिव थापा डाको छोडेर नै रुनुभयो । आफ्ना दुई सन्तान रहेका र उनीहरूको भविष्य समेत अन्धकार हुने गरी आफूलाई सुन चोरको आरोप लगाइएको दुखेसो पोख्दै उहाँले राज्यको नीति यही हो ? भनि प्रश्न समेत गर्नुभयो । गाउँमा समेत आफूलाई सुन चोरको रुपमा हेरिएकाले आफू पीडित भएको उहाँको भनाई थियो ।

सदस्य सचिव थापाले आफूलाई पशुपति क्षेत्रको भेटी, जग्गालगायतका सम्पत्ति दुरूपयोग गरेर बाँच्नु नपर्ने पनि बताउनुभयो । सदस्य सचिव थापाले भन्नुभयो, ‘राज्यको पनि कहिलेकाहीँ मलाई लाग्छ–कान मात्रै हुँदो रहेछ, आँखा हुँदो रहेनछ कि जस्तो लाग्छ। मैले यो क्षमासाथ भनें। मलाई दुःख लाग्छ। जहाँसम्म यो सुनको जलहरीको कुरा हो। म एउटा अध्यात्मा सेक्टरमा लागेको व्यक्ति। भगवान पशुपतिनाथको कृपाले कोषाध्यक्ष भएर फेरि सदस्य सचिव बन्ने मौका पाएँ। मेरो प्रोफेसनल स्किल आफ्नै छ। र, मलाई धेरै जनाले सायद चिन्नु पनि हुन्छ होला। मलाई पशुपतिको भेटी तलमाथि गरेर कुनै जग्गा, जमिन बेचेर खानु छैन। खाँदिनँ। मेरा दुई वटा सन्तान छन्।

म चिसो पानी हाल्न चाहन्छु, चिसो पनि हाल्न चाहन्न। र, धनी र गरिब मर्दाखेरी एउटै कात्रो ओढेर जाने ठाउँ हो पशुपति। मैले यति बुझेको छु। योभन्दा धेरै बुझेको छैन। चाहे महलमा बसे पनि, छाप्रोमा बसे पनि काल त एउटै हो नि। कोही छिटो मर्छन्, कोही अलि ढिलो मर्छन्। त्यसले गर्दाखेरी यो सुनको जलहरी मैले न्याय माग्न मैले पनि के आत्महत्या गर्नुपर्ने हो ? माननीयज्यूहरू। अहिलेपनि पशुपतिनाथमा चढाएको सुनको जलहरी जोखौं भनिएजति सुन भएन भने मृत्युदण्ड स्वीकार छ ।

 

प्रकाशित मिति : २०८० जेष्ठ ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस