२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

सरकार मेरा लागि ठूलो कुरा होइन, भ्रष्टाचार निर्मूल गर्छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार निर्मूल पार्ने बताउनुभएको छ । भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर रूपमा प्रस्तुत भएकाले कुनै पनि प्रकारको सम्झौता नगरिने उहाँको भनाई छ ।

पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका दिवंगत नेता धनीराम (डिआर) पौडेलको चौथो स्मृति दिवसका सन्दर्भमा आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले सरकार सुशासन कायम गर्न दृढतापूर्वक अगाडि बढिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कतिपयले आशंका गरेको देख्छु, सरकार कतै झुक्छ कि सम्झौता गर्छ कि भन्ने। तर, प्रस्ट रूपमा भन्छु– सरकार मेरा लागि ठूलो कुरा होइन। ठूलो कुरा सुशासन हो, जनताको सेवा गर्नु हो।’ भ्रष्टाचार निर्मूल पार्न सरकार दृढतापूर्वक अगाडि बढ्ने विश्वास दिलाउँदै उहाँले कहीँ सम्झौता नहुने र नझुक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नयाँ परिस्थितिमा कम्युनिस्ट आन्दोलन अगाडि बढाउन आफूहरू क्रियाशील रहेको जनाउँदै उहाँले समाजवादी क्रान्ति सम्पन्न गर्न आफूहरू समाजवादी मोर्चा बनाउने प्रक्रियामा केन्द्रित भएको बताउनुभयो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस