२०८३ कार्तिक ८ गते शनिवार | 2026 October 24th Saturday

कार दुर्घटनामा मन्त्री पृथ्वीबहादुर सिंहसहित श्रीमती र भाउजुको निधन

काठमाडौं । बझाङमा दुर्घटनामा परेका सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको उपचारको क्रममा निधन भएको छ।

बाँकेस्थित मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सन्तोषसिंह राठौरले जानकारी दिनुभयो । उहाँका अनुसार मंगलबार साँझ ५ः३३ मा मन्त्री सिंहको निधन भएको हो।

‘५ः३३ मा बाँकेस्थित मेडिकल कलेज कोहलपुरमा चिकित्सकले मन्त्रीजीलाई मृत घोषणा गरे,’ एसपी राठौरले भन्नुभयो ।

यसअघि उहाँकी पत्नी अमृता र भाउजू जयादेवीको मृत्यु भएको थियो। उहाँहरूको देउराको निजी मेडिकलमा उपचारको क्रममा मृत्यु भएको थियो।

मंगलबार दिउँसो २ बजेतिर डडेल्धुराबाट चैनपुर जानेक्रममा मन्त्री सिंहसहित पाँच जना चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको कार दुर्घटनामा परेको हो। बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो।

दुर्घटनामा घाइते मन्त्री सिंहका पिएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक धर्मराज जोशीको पनि कोहलपुरमा उपचार भइरहेको छ। मन्त्रीसहित उहाँहरूलाई हेलिकप्टरमार्फत कोहलपुर पुर्‍याइएको थियो।

प्रकाशित मिति : २०८० असार ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस