२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

दुई पटकको विश्व विजेता वेस्ट इन्डिजको १५ ओभरमा नै नेपालले तीन विकेट लियो

Nepali Cricket team

काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले आफ्नो तेस्रो खेलमा दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसँग खेलिरहेको छ।

जिम्बावेको राजधानी हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरिरहेको वेस्ट इन्डिजले तीन विकेट गुमाइसकेको छ। ओपनिङ ब्याट्सम्यान कायल मेयर्सलाई १ रनमा नेपालका करण केसीले कुशल भुर्तेलबाट क्याच गराए।

यस्तै दोस्रो विकेट गुल्सन झाले लिएका छन्। गुल्सनले जोनसन चार्ल्सलाई शून्य रनमा विकेटकिपर आसिफ शेखबाट क्याच गराएका छन्। त्यतिबेला वेस्ट इन्डिजले ४.१ ओभरमा २ विकेट गुमाएर ९ रन जोडेको थियो। दुई छक्का, दुई चौका सहित ४२ बलमा ३२ रन जोडेका ब्रान्डन किङलाई सन्दीप लामिछानेले तेस्रो विकेटका रुपमा आउट गराए ।

नेपाली टिम : कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, ललितनारायण राजवंशी, करण केसी, सन्दीप लामिछाने।

यसअघि नेपालले पहिलो खेलमा जिम्बावेसँग हार बेहोर्दा दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको थियो। वेस्ट इन्डिजले भने दोस्रो खेल खेल्न लागेको हो। उसले पहिलो खेलमा अमेरिकालाई पराजित गरेको थियो। नेपाल र वेस्ट इन्डिजबीच एकदिवसीय खेलमा पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो।

नेपालको प्रशिक्षक नियुक्त हुनुअघि मोन्टी देसाई वेस्ट इन्डिजको ब्याटिङ प्रशिक्षक थिए। वेस्ट इन्डिज टिमको बारेमा देसाई जानकार हुनु नेपाली टिमका लागि योजना बनाउन फाइदाजनक हुन सक्छ। १० टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन्।

समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्। वेस्ट इन्डिज आज खेलेपछि नेपालले अन्तिम खेल २४ जुनमा ९असार ९० नेदरल्यान्ड्ससँग खेल्नेछ। बाँकी दुई मध्ये एक खेलमा जित निकाल्न सकेको अवस्थामा नेपालको सुपर सिक्स सम्भावना हुनेछ।

पाँच–पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीनरतीन टिम पुग्नेछन्। सुपर सिक्समा एक समूहका तीन टिमले अर्को समूहका तीन टिमसँग खेल्नेछन्। जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबररनोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्।

 

प्रकाशित मिति : २०८० असार ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस